close

ईसेवाले ल्यायो दैनिक १ रुपैयाँमै चार जनाका लागि स्वास्थ्य सेवा र दुर्घटना बीमा योजना

टेकपाना टेकपाना

बैशाख २१, २०८० १६:१०

ईसेवाले ल्यायो दैनिक १ रुपैयाँमै चार जनाका लागि स्वास्थ्य सेवा र दुर्घटना बीमा योजना

काठमाडौं । भुक्तानी सेवाप्रदायक ईसेवाले 'एकमा चार' अफर सार्वजनिक गरेको छ । यसअन्तर्गत दैनिक रु. १ भन्दा कममै आफूसहित अन्य चार जना आफन्त तथा साथीभाइको पूर्ण हेल्थ केयर सुविधा खरिद गर्न सकिने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार यस अफरमा आफन्त र साथीभाइलाई समेत समावेश गर्न सकिनेछ । अफरमा सहभागी भई आफ्नो पूर्ण हेल्थ केयर खरिद गर्न  दैनिक रु. १ भन्दा कम अर्थात् वार्षिक ३६० रुपैयाँ भुक्तानी गर्नुपर्नेछ ।

यस्तै आफ्ना अन्य परिवारका सदस्यलाई समावेश गर्नुपरे हरेक सदस्यको वार्षिक २७० रुपैयाँ शुल्क लाग्नेछ । यसैगरी आफूसहित साथीभाइलाई समावेश गर्नुपरे एकजना साथीको वार्षिक ३६० रुपैयाँका दरले शुल्क भुक्तानी गर्नुपर्नेछ ।

ईसेवाले आफ्ना प्रयोगकर्ता र उनीहरूका आफन्त र साथीभाइलाई स्वास्थ्य तथा आइपर्ने भवितव्य एवं दुर्घटनालाई मध्यनजर गर्दै हिमालयन एभरेष्ट इन्स्योरेन्ससँगको सहकार्यमा यस किसिमको सुविधा ल्याएको हो ।

ईसेवाको मोबाइल एपमा गई 'ईसेवा केयर सेवा' अन्तर्गत यो प्याकेज खरिद गर्न सकिनेछ, जहाँ ग्राहकहरू आफू, आफ्नो परिवार तथा साथीभाइलाई थुप्रै स्वास्थ्य सेवाका साथै स्वास्थ्य बीमा प्याकेज र दुर्घटना बीमाको सुविधा लिन सकिनेछ ।

हिमालयन एभरेष्ट इन्स्योरेन्सबाट दिइने दुर्घटना उपचार खर्च, अस्पतालको बेड शुल्क, मृत्यु र अशक्ततालाई एक लाख रुपैयाँसम्मको बीमा दाबी गर्न सकिनेछ ।

''यस प्योकज अन्तर्गत आकस्मिक उपचार र चिकित्सा परीक्षण तथा चोट पटक तथा दुर्घटनापछि अस्पतालमा बुझाउनुपर्ने शुल्कको दाबी गर्न सकिनेछ । प्याकेजमा एक लाखभन्दा बढीको दुर्घटना बीमा, २४-घण्टा भन्दा बढीको अस्पतालमा भर्ना भएमा १० हजारसम्मको उपचार खर्च, छाला, कपाल तथा ब्यूटी केयरमा २० प्रतिशत छुट प्राप्त गर्न सकिन्छ,'' कम्पनीले जारी गरेकाे विज्ञप्तिमा भनिएकाे छ ।

यसैगरी दाँत सफा गर्दा एवं दन्त उपचारमा रु. ५०० छुट, फुल बडी चेकअपमा ५० प्रतिशत छुट तथा आँखा र फिटनेस सेवामा २५ प्रतिशत छुट प्राप्त गर्न सकिन्छ भने ईसेवामा १०० रिवार्ड पोइन्ट प्राप्त गर्न सकिन्छ ।

यो बीमा प्योकज खरिद गरेका व्यक्तिले बीमा दाबी गर्न ३५ दिनभित्र हिमालयन एभरेष्ट इन्स्योरेन्समा आवश्यक कागजात सहित सम्पर्क गर्नुपर्ने ईसेवाले जनाएकाे छ ।

गर्भावस्था, गर्भपतन, जन्म नियन्त्रण,बाँझोपनको उपचारका जटिलता, मानसिक वा नर्भस ब्रेक डाउन, जन्मजात वा वंशाणुगत दोष वा अवस्थाहरु, एचआईभी वा कुनै यौनजन्य रोग, रक्सी वा अन्य लागुऔषध दुरुपयोग,आत्महत्या वा कुनै अंग प्रत्यारोपण, वैकल्पिक शल्यक्रिया, प्लास्टिक सर्जरी, नियमित परीक्षण गरिरहनुपर्ने रोगहरूमा भने यो हेल्थ केयर प्याजेजबाट बीमा दाबी गर्न नसकिने कम्पनीले जनाएकाे छ ।

यस प्याकेजमा बीमा खरिद गरेको ३० दिनपछि मात्र अस्पताल भर्नाको दाबी गर्न सकिन्छ । साथै यो अफरमा ६० वर्षभन्दा कम उमेर समूहका व्यक्तिहरूले मात्र सहभागिता जनाउन सकिने जनाइएको छ ।

पछिल्लो अध्यावधिक: बैशाख २१, २०८० १६:१०