काठमाडौं । गुगलले आफ्ना प्रयोगकर्ताहरूको सुरक्षाको लागि पासकी प्रणाली सुरु गरेको छ । पासवर्ड र टु-फ्याक्टर अथेन्टिकेसनको विकल्पमा ल्याइएको पासकी (PassKey) प्रणाली गुगलले बुधबार सार्वजनिक गरेको हो ।
पासकी यस्तो प्रणाली हो, जुन प्रयोग गर्नुअघि अन्य आधिकारिक डिभाइसमा अकाउन्ट लगइन भएको हुनुपर्नेछ । गुगलका प्रमुख प्लेटफर्ममा यो फिचर उपलब्ध भइसकेको कम्पनीको भनाइ छ । प्रयोगकर्ताले अब आफ्नो पासवर्ड वा टु-फ्याक्टर अथेन्टिकेसनको सट्टा पासकी प्रयोग गर्न सक्नेछन् ।
"तपाईंले आजैदेखि आफ्नो व्यक्तिगत गुगल अकाउन्टमा पासकी तयार पारेर प्रयोग गर्न सक्नुहुन्छ," गुगलले एक ब्लग सार्वजनिक गर्दै लेखेको छ, "जब तपाईंले पासकी तयार पारेर प्रयोग गर्नुहुन्छ, तब साइनइन गर्दा गुगलले पासवर्ड र टु-स्टेप भेरिफिकेसन माग्ने छैन ।"
पासकीलाई कम्पनीले पासवर्ड र टु-फ्याक्टर अथेन्टिकेसनभन्दा पनि सुरक्षित हुने दाबी गरेको छ । गुगल, एप्पल, माइक्रोसफ्टजस्ता कम्पनीले फिडो अलायन्स (FIDO)सँग सहकार्य गरेर पासकी प्रणाली सुरु गर्ने घोषणा गरेका थिए ।
यो पासकी प्रणाली लागू गर्दा परम्परागत तरिका जस्तै; पासवर्ड राख्ने वा टु-स्टेप अथेन्टिकेसन अन गर्ने आवश्यक हुँदैन । यदि तपाईंले आफ्नो गुगल अकाउन्टमा पासकी लागू गर्नुभयो भने आफ्नो डिभाइसको पिन, बायोमेट्रिक्स अन गर्ने जस्तै फिङ्गरप्रिन्ट वा फेस आइडी प्रयोग गर्दा सजिलै साइनइन गर्न सकिन्छ ।
यसले गर्दा पुरानो पासवर्ड सम्झिरहने झन्झट गर्नु पर्दैन । र, तपाईंको फोनको बायोमेट्रिक्स वा पिन जस्ता कुराहरू थर्ड पार्टीले नपाउने भएकाले पासकी सुरक्षित हुने कम्पनीको भनाइ छ । फिशिङ आक्रमणमा पर्नुभयो भने पनि तपाईंको गुगल अकाउन्ट अर्कोले प्रयोग गर्न पाउँछ भन्ने हुँदैन ।
किनभने तपाईंले साइनइन गर्नका लागि डिभाइसको पिन, पासवर्ड, फिङ्गरप्रिन्ट वा फेसआइडी प्रयोग गर्नुपर्ने हुन्छ । फिशिङमा पर्दा डिभाइसका यस्ता जानकारी ह्याकरको पहुँचमा नपुग्नाले अकाउन्ट सुरक्षित हुन्छ ।
गुगल अकाउन्टमा कसरी पासकी सेट गर्ने ?
- सबैभन्दा पहिले यहाँ क्लिक गरी गुगल अकाउन्टको पेजमा जानुहोस् ।
- त्यसपछि पासवर्ड राखेर लगइन गर्नुहोस् ।
- अनि 'युज पासकी'को अप्सनमा क्लिक गर्नुहोस् ।
- यति गर्नुभयो भने तपाईंले अर्को डिभाइसमा जीमेल साइनइन गर्दा पासकी राख्न भनिएको हुन्छ ।
- तपाईंले अर्को डिभाइस वा ब्राउजरमा सबैभन्दा पहिले आफ्नो ईमेल एड्रेस राख्नुपर्ने हुन्छ । त्यसपछि ‘कन्टिन्यु’ अप्सनमा ट्याप गर्नुहोस् ।
- यति गरेपछि 'युज योर पासकी टु कन्फर्म इट्स रियल्ली यु' भन्ने अप्सन बक्सको अन्तिममा रहेको 'कन्टिन्यु' अप्सनमा क्लिक गर्नुहोस् ।
- अनि तपाईंको डिभाइसमा कोड दिएर स्क्यान गर्न वा बायोमेट्रिक्स भेरिफाइ गर्न भनिएको हुन्छ । यस्तोमा तपाईंले आफ्नो डिभाइसको पासवर्ड, पिन वा बायोमेट्रिक्स राखेर अकाउन्ट साइनइन गर्न सक्नुहुन्छ ।
तपाईंको डिभाइसको पासवर्ड, पिन वा बायोमेट्रिक्स डिभाइसको हार्डवेयरमै भण्डारण भएको हुन्छ । विशेषगरी एन्ड्रोइड ९ र आईओएस १६ बाट सञ्चालित डिभाइसमा यो फिचर प्रयोग गर्न सकिन्छ ।