close

देखियो ताराले ग्रह निलेको दृश्य, पृथ्वीले पनि त्यस्तै अवस्थाको सामना गर्नुपर्ने !

टेकपाना टेकपाना

बैशाख २३, २०८० ८:२९

देखियो ताराले ग्रह निलेको दृश्य, पृथ्वीले पनि त्यस्तै अवस्थाको सामना गर्नुपर्ने !

काठमाडौं । खगोलशास्त्रीले इतिहासमै पहिलो पटक ताराले ग्रह निलेको दृश्य देखेका छन् । पृथ्वीभन्दा १२ हजार प्रकाश वर्ष टाढा यस्तो दृश्य देखिएको हो ।

मे २०२० मा वैज्ञानिकले उक्त तारामा एक्कासि प्रकाशको मात्रा बढेको फेला पारे । त्यसपछि उनीहरूले क्यालटेकको पालोमार अब्जरभेटरीमा रहेको ज्विक्की ट्रान्जिन्ट फ्यासिलिटी (ZTF) का माध्यमबाट सर्वेक्षण गरेका थिए । यसबारे विस्तृत अध्ययन गर्न वैज्ञानिकले हब्बल स्पेस टेलिस्कोप र केक अब्जरभेटरी प्रयोग गरेका थिए ।

यसरी अवलोकन तथा अनुसन्धान गरेको एक वर्षपछि ताराले एउटा ग्रह निलेको तथ्य बाहिर आयो । यो ग्रह सम्भवतः बृहस्पतिको आकारको (Gas Giant) थियो, जुन ताराको नजिक घुमेको देखिएको थियो । यसलाई उक्त ताराको वायुमण्डलले आफूतिर तानेको बुधबार नेचर जर्नलमा प्रकाशित रिपोर्टमा उल्लेख छ ।

वैज्ञानिकहरूको खोजले के देखायो भने वृहस्पति ग्रहभन्दा ठूलो उक्त ग्रहलाई सो ताराको गुरुत्वाकर्षणले टुक्र्यायाे र टुक्रिएको भागलाई ताराको वायुमण्डलले आफूतिर तानेको थियो । यो खोज ताराले ग्रह निल्ने पहिलो र प्रत्यक्ष प्रमाण हो ।

साथै यसले तारा र ग्रह प्रणालीको विकासक्रम कसरी भइरहेको छ भन्ने तथ्य बाहिर ल्याएको छ । त्यसबाहेक पनि एउटा तारा र उसको वरपर भएका ग्रहको जीवनचक्र कस्तो हुन्छ भन्ने कुराको प्रमाण दिएको छ ।

उक्त खोजमा म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजी, हर्वार्ड युनिभर्सिटी र क्यालिफोर्निया युनिभर्सिटी अफ टेक्नोलोजीका वैज्ञानिकहरू रहेका थिए । जसलाई म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआईटी)का किशाले डि (Kishalay De) ले नेतृत्व गरेका थिए ।

''भविष्यमा सौर्यमण्डलका ग्रहहरू सूर्यमा समाहित हुनेछन् भन्ने तथ्य मैले हाईस्कूलमा पहिलो पटक पढेको थिएँ," एमआईटीका किशाले डिले अन्तर्राष्ट्रिय सञ्चार माध्यम सीएनएनलाई भने, " त्यसैले हामीले वास्तविक समयमा यस्तै घटनाको उदाहरणको प्रत्यक्षदर्शी बन्न पाउनु ठूलो कुरा हो ।"

मे २०२० मा वैज्ञानिकले अक्विला नक्षत्रमा एक्कासि प्रकाश बढेको पत्ता लगाएका थिए । जेटटीएफ जे१९०३+ ०२२७ नाम दिइएको उक्त ताराको प्रकाश केही दिनमा ५०० गुणाले बढेको थियो । त्यसपछि उक्त टिमले अध्ययन थाल्यो र त्यसको एक वर्षपछि सो ताराले ग्रह निलेको कुरा पत्ता लगाए ।

वृहस्पति ग्रहकै जत्तिको आकार भएको ग्रहलाई सबैभन्दा पहिले सो ताराको गुरुत्वाकर्षणले टुक्रायो । र, त्यही टुक्रिएको भागलाई ताराले खपत गरेको खगोलशास्त्रीले जनाएका छन् । यही घटना अबको पाँच अर्ब वर्षमा पृथ्वीमा पनि दोहोरिनेछ । जब सूर्य बढ्दै गएर रेड जायन्टमा परिणत हुन्छ, त्यसपछि आफ्नो मण्डलका ग्रह निल्ने वैज्ञानिकको तर्क छ ।

पछिल्लो अध्यावधिक: बैशाख २३, २०८० ९:४०