close

ट्वीटरको विकल्पमा आएको ‘ब्लुस्काई’ के हो, अनि किन प्रयोग गर्ने ?

टेकपाना टेकपाना

बैशाख २३, २०८० ९:५८

ट्वीटरको विकल्पमा आएको ‘ब्लुस्काई’ के हो, अनि किन प्रयोग गर्ने ?

काठमाडौं । ट्वीटरको विकल्प अरु केही छैन भन्ने सोच्नु भएको छ भने पर्खनुहोस्, बजारमा ब्लुस्काईको उदय भइसकेको छ । तपाईंको 'ब्लुस्काई' शब्द पक्कै पनि सुन्नु भएको नै छ होला ।

ब्लुस्काईको बारेमा सुनिसकेपछि वा थाहा पाइसकेपछि यो के हो, कसरी प्रयोग गर्न सकिन्छ ? कसका लागि उपयोगी छ भन्ने विषयमा पक्कै जान्न खोजिरहनु भएको हुनसक्छ । आज हामी ब्लुस्काईसँग सम्बन्धित सम्पूर्ण जानकारी उपलब्ध गराउने छौं ।

के हो ब्लुस्काई ?

ब्लुस्काई डिसेन्ट्रलाइज्ड माइक्रोब्लगिङ सामाजिक सञ्जाल हो । ब्लुस्काईमा तपाईंले 'स्टिट्स' पठाउन सक्नुहुन्छ । ट्वीटरमा ट्वीट भने जस्तै ब्लुस्काईमा स्टिट्स पोस्ट गर्न सकिन्छ । ब्लुस्काइमा पोस्ट गर्ने टेक्स्ट, फोटो वा भिडिओ साथसाथै यस्ता कन्टेन्टमा रिप्लाई वा रिपोस्ट गर्न सकिन्छ ।

यो एप पूर्ण रूपमा ट्वीटर जस्तै छ । विशेषगरी यसमा होमफिड समावेश छ । जहाँ तपाईंले फलो गरेका व्यक्तिका स्टिट्स देख्न सक्नुहुन्छ । साथै यसमा सर्चबार पनि छ, जहाँबाट तपाईं कुनै कन्टेन्ट वा प्रयोगकर्ता सर्च गर्न सक्नुहुन्छ ।

प्रोफाइल राख्ने, त्यसलाई एडिट गर्ने तथा हेडर इमेज राख्ने सुविधा यस प्लेटफर्ममा रहेको छ । डार्क मोड, मल्टिअकाउन्ट लगइन त ब्लुस्काईका अतिरिक्त फिचर भइ नै हाले ।

सबैभन्दा रोचक कुरा त के भने यो डिसेन्ट्रलाइज्ड छ । भन्नुको अर्थ यो प्लेटफर्म कुनै एक कम्पनीद्वारा नियन्त्रित छैन । यो ब्लकचेन जस्तो डिसेन्ट्रलाइज्ड प्रविधिमा तयार पारिएको छ ।

समग्रमा भन्नुपर्दा यसका फिचरहरू सबै ट्वीटरसँग मिल्दाजुल्दा रहेका छन् । यदि तपाई ट्वीटर प्रयोग गरिरहनु भएको छ भने तपाईंका लागि ब्लुस्काईको युजर इन्टरफेस नौलो नहुन सक्छ ।

ब्लिस्काईले प्रयोग गर्ने एटी प्रोटोकल के हो ?

ब्लुस्काईले एटी प्रोटोकोल (एटेन्सन प्रोटोकोल) प्रयोग गरेर काम गर्ने कम्पनीको भनाइ छ । यो एउटा त्यस्तो नयाँ नेटवर्किङ प्रोटोकोल हो, जुन नयाँ पुस्ताको सामाजिक सञ्जालमा आधारित छ । एटी प्रोटोकोलमा यस्ता विशेषता हुने गर्छन्;

-  यसमा ओपन एल्गोरिदम छ, जसले तपाईंले कस्तो पोस्टमा पहुँच लिने भन्ने अनुमति दिन्छ ।

-  तपाईंको मेटा डेटाको गोपनीयता र सुरक्षा उपलब्ध गराउने ।

-  हरेक डिभाइसमा पोर्टेबल हुने

ब्लुस्काईमा कसरी साइनअप गर्न सकिन्छ ?

अहिले प्लेस्टोर र एपस्टोरमा ब्लुस्काई एप उपलब्ध भइसकेको छ । तर, एपमा अकाउन्ट बनाउनका लागि भने तपाईंलाई इन्भिटेसन कोड प्राप्त गर्नुपर्ने हुन्छ । त्यसका लागि पहिले वेटलिस्टमा जोडिन आवश्यक हुन्छ ।

वेटलिस्टमा सहभागी हुन यहाँ क्लिक गरि ईमेल राखेर 'जोइन टु वेटलिस्ट' बटनमा क्लिक गर्नुपर्ने हुन्छ । यति गर्नुभयो भने कम्पनीले केही दिनपछि इन्भिटेसन कोड पठाउँछ र त्यसैका आधारमा अकाउन्ट बनाउन सकिने बताइएको छ ।

के ब्लुस्काई ट्वीटरको वैकल्पिक एप नै हो त ?

अहिलेको समयमा ब्लुस्काई प्रयोग गर्नु कत्तिको सान्दर्भिक होला भन्ने तपाईंले पनि सोचिरहनु भएको हुनसक्छ । त्यस्तै ट्वीटरको विकल्पमा आएको यो प्लेटफर्म कत्तिको सफल हुन्छ भन्ने धेरैको जिज्ञासा छ ।

हुन त जो व्यक्तिले ट्वीटर बनाएका हुन्, ब्लुस्काई बनाउने व्यक्ति पनि उनै हुन् । अर्थात् ब्लु स्काई ज्याक डोर्सीको कम्पनी हो । जो प्रयोगकर्ता अनुकूलका फिचर ल्याउन माहिर छन् । त्यसैले पनि समयअनुसार ब्लुस्काईमा स्थानान्तरण हुन आवश्यक छ ।

पछिल्लो समय ट्वीटर एलन मस्कको स्वामित्वमा गएपछि विवादित बन्दै आएको छ । विशेषगरी सशुल्क भेरिफिकेसन सेवाले पनि प्लेटफर्ममा प्रयोगकर्ताको विश्वास घटाएको अवस्था छ ।

कुनै नक्कली अकाउन्टलाई भेरिफाई गरेर त्यसमार्फत स्पाम लिङ्क फैलिन सक्ने जोखिम उच्च छ । त्यसैले पनि सुरक्षित रूपमा समाचार पढ्न, आधिकारिक व्यक्तिका ब्लग पढ्न ब्लुस्काई प्रयोग गर्न सकिन्छ ।

ब्लुस्काईमा स्थानान्तरण हुन चाहने प्रयोगकर्ताको सङ्ख्या धेरै छ । इन्भिटेसन कोडबाट मात्र अकाउन्ट बनाउने सुविधा हुँदा हालसम्म ४५ हजार बढी प्रयोगकर्ता जोडिएको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । विशेषगरी ट्वीटरबाट रुष्ट भएका र एलन मस्कको रणनीति चित्त नबुझेका सेलिब्रेटी तथा मिडिया ब्लुस्काईमा आकर्षित छन् ।

पछिल्लो अध्यावधिक: बैशाख २३, २०८० १०:८