close

अन्नपूर्ण गाउँपालिकाले सुरु गर्‍यो अनलाइन राजश्व भुक्तानी सेवा

टेकपाना टेकपाना

बैशाख २५, २०८० ९:१७

अन्नपूर्ण गाउँपालिकाले सुरु गर्‍यो अनलाइन राजश्व भुक्तानी सेवा

काठमाडौं । कास्कीको अन्नपूर्ण गाउँपालिकाले सेवा प्रबाहलाई प्रबिधि मैत्री बनाउने अभियान अन्तर्गत अनलाइन बाटै राजश्व भुक्तानी सेवा सुरु गरेको छ । आइतबार मुख्य मन्त्री तथा मन्त्री परिषदको कार्यालय गण्डकी प्रदेशका सचिव मनमाया भट्टराई पंगेनी र गाउँपालिका अध्यक्ष बिष्णु बहादुर के.सी.ले संयुक्त रुपमा अनलाइन  सेवाको सुरुवात गरेका हुन् । 

कार्यक्रममा पहिलो सेवाग्राही बालकृष्ण अधिकारीले कनेक्ट आइपिएसको मार्फतबाट मालपोत कर भुक्तानी गरेका थिए ।

गाउँपालिकाका प्रवक्ता भरतमान गुरुङले जनताले तिन सय रुपैयाँ कर तिर्नकै लागि दुई हजार रुपैयाँ खर्चेर पालिका धाउनुपर्ने अवस्थाको अन्त्य भएको बताए । प्रविधिमैत्री पालिका निर्माणमा यो सेवाले इट्टा थप्ने काम गरेको गाउँपालिकाका उपाध्यक्ष चन्द्रकला अधिकारीले बताइन् ।

गाउँपालिकाका सूचना प्रविधि अधिकृत ई. सूर्य तिमिल्सिनाका अनुसार सेवाग्राहीले आफ्नो करदाता पोर्टलमा लगइन गरी आफ्नो सम्पति विवरण एवंम करको अभिलेख  हेर्न र भुक्तानी गर्न सक्नेछन् । 
साथै वालेट मार्फत लोकल गभर्नमेन्ट पेमेन्टमा अन्नपूर्ण गाउँपालिका छनौट गरी सिधै भुक्तानी समेत गर्न सकिनेछ । 

पछिल्लो समय पालिकाले सूचना प्रविधि मार्फत विभिन्न सेवा उपलब्ध गराएको हुँदा आफुँहरुले जनताको घर घरमा सेवा सम्बन्धि जानकारी दिन डिजिटल साक्षरता कार्यक्रम समेत संगसंगै लैजाने उनले बताए । यस अघि नै क्यू आर कोड मार्फत भुक्तानी सुरु गरिसकेको पालिकाले साउन महिना देखि अनलाइन प्रणाली मार्फत बिल काट्न सुरु गरेको थियो । 

हाल कनेक्ट आइपिएस र ईसेवासंग सम्झौता गरी सो पेमेन्ट गेटवे मार्फत भुक्तानी गर्न सकिने  व्यवस्था मिलाइएको पालिकाले  जनाएको  छ ।  

पछिल्लो अध्यावधिक: बैशाख २५, २०८० ९:१७