close

काठमाडौं महानगरको माग सम्बोधन, सुरु भयो अव्यवस्थित तार हटाउने काम

टेकपाना टेकपाना

बैशाख २५, २०८० १०:१७

काठमाडौं महानगरको माग सम्बोधन, सुरु भयो अव्यवस्थित तार हटाउने काम

काठमाडौं । आजबाट काठमाडौंका अव्यवस्थित तार हटाउने काम सुरु भएको छ । टेलिफोन तथा इन्टरनेट लगायतको तारहरु सडक छेउको पोलहरूमा गुजुल्टो भएको, चुँडिएको तथा लत्रिएको तारहरुको व्यवस्थापन गर्ने काम सुरु गरिएको हो ।

यस्ता अव्यवस्थित तारले शहरी सुन्दरतामा ह्रास पुग्न जानुको अलवा दुर्घटना समेत हुने गरेकोले यसरी प्रयोगमा नआएको, गुजुल्टिएको, चुँडिएको तथा लत्रिएको तार हटाई व्यवस्थित गर्न रुट तय भएको नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ । 

सबैभन्दा सुरुमा माईतिघर देखि एयरपोर्ट, त्रिपुरेश्वर देखि महाराजगन्ज, न्यूरोड-बसन्तपुर हुँदै असन र माईतिघर पुतलीसडक हुँदै नारायणहिटी क्षेत्रका अव्यवस्थित तार हटाइनेछ ।

साथै भद्रकाली नारायणहिटी कमलादी हुँदै रानीपोखरी, डिल्लीवजार अनामनगर हुँदै बीआईसीसी, नक्साल बालुवाटार हुँदै शीतल निवास र माईतिघर देखि त्रिपुरेश्वर हुँदै कलंकी, लैनचौर-अस्कल रानीवारी हुँदै सामाखुशी, सोहखुट्टे-ढल्को ताहाचल हुँदै स्वयम्भु, सिनामंगल पुरानो बानेश्वर हुँदै गौशाला, गौशाला बौद्धनाथ र कालिमाटीदेखि कुलेश्वर हुँदै बल्खु क्षेत्रका अव्यवस्थित तार हटाइनेछ । 

यी रुटहरूमा क्रमशः तारहरू व्यवस्थित गर्दै जाने प्राधिकरणले जनाएको छ । एक सूचना जारी गर्दै प्राधिकरणले सेवाप्रदायकहरूलाई समेत दैनिक रूपमा हुने तार व्यवस्थापन कार्यमा अनिवार्य सहभागिताका लागि निर्देशन दिएको छ । 

तार व्यवस्थापन कार्यमा सेवाप्रदायक उपस्थित नभएमा वा सम्बन्धित सेवाप्रदायकको तार चिनिने ट्याग नभएको कारण तार काटिएमा वा हटाइएमा सोको जिम्मेवार स्वयम् सेवाप्रदायक नै हुने प्राधिकरणले जनाएको छ । 

साथै, सेवाप्रदायकहरूले आफ्नो नेटवर्क विकास तथा विस्तार गर्दा अनिवार्य रूपमा यस प्राधिकरणबाट जारी गरिएको "Directives for Laying and Maintaining Optical Fibre Network" बमोजिम हुने गरी मात्र तार व्यवस्थापन गर्न पनि प्राधिकरणले आग्रह गरेको छ । 

आइतबार बिहान काठमाडौं महानगरपालिका, इन्टरनेट सेवा प्रदायक सङ्घ नेपाल (आइस्पान), उपत्यका विकास प्राधिकरण, नेपाल दूरसञ्चार प्राधिकरण र नेपाल प्रहरीको सीसीटीभी युनिटको संयुक्त बैठकले अव्यवस्थित तार हटाउने निर्णय गरेको हो ।
 

पछिल्लो अध्यावधिक: बैशाख २५, २०८० १०:१७