काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष (आ. व.) ०८०/८१ मा ल्याउने नीति, कार्यक्रम तथा बजेटबारे सुझाव सङ्कलन गर्न वेबसाइट सञ्चालनमा ल्याएको छ ।
एक सूचना जारी गर्दै महानगरपालिकाले सर्वसाधारणलाई वेबसाइट मार्फत नीति, कार्यक्रम तथा बजेट बारे आफ्नो मत पठाउन आग्रह गरेको हो । महानगरपालिकाले आ. व. ०८०/०८१ को नीति तथा कार्यक्रमलाई नागरिकले अपेक्षा गरे अनुरूप तयार गर्ने भन्दै आवश्यक नीतिमा सुझाव मागेको बताएको छ ।
सर्वसाधारणले आउँदो जेठ ९ गते भित्र महानगरपालिकालाई सो वेबसाइट मार्फत सुझाव दिनसक्ने छन् ।
- वेबसाइट खुलेपछि तल तस्वीरमा देखिएको जस्तो पेज देखिनेछ । स्क्रिनको दायाँपट्टी विभिन्न विषयमा दिइएको सुझावको संख्या देख्न सकिन्छ । तपाईंले आफ्नो सुझाव दिनको लागि भने स्क्रिनको बायाँपट्टि तल रहेको ‘आफ्नो सुझाव दिनुहोस्’मा क्लिक गर्नुहोस् ।
- अब कार्यक्रम वा नीति निर्माण कुनमा सुझाव दिने दुई विकल्प देखिन्छन् । तपाईं कुनमा सुझाव दिनुहुन्छ त्यसमा क्लिक गर्नुहोस् ।
- त्यसपछि विभिन्न विभागका सूची देखिन्छ । ती मध्ये कुनै एकमा क्लिक गर्नुहोस्।
- स्क्रिनको बायाँ भागमा समेत विभाग सूची देखिन्छ । त्यो मध्ये कुनै एकमा क्लिक गर्नु भएपछि त्यसभित्र भएको उपसूची भने बायाँ भागबाट नै छनौट गर्नुपर्ने हुन्छ । ती मध्ये कुनै एकमा क्लिक गर्नुहोस् ।
- अब सुझाव लेख्न मिल्ने बक्स आउँछ । त्यसमा आफ्नो सुझाव लेख्नुहोस् । अथवा तपाईंले पहिल्यै लेखिसकेको सुझावको फाइल समेत अपलोड गर्न सक्नुहुन्छ । अब यी काम गरिसकेपछि ‘सुझाव पठाउनुहोस’ मा क्लिक गर्नुहोस् ।
यसरी तपाईंले महानगरलाई आफ्नो सुझाव पठाउन सक्नुहुन्छ । वेबसाइट बाहेक [email protected] मा इमेल लेखेर वा नगर कार्यपालिकाको कार्यालयमा गएर समेत सुझाव दिन सकिने महानगरपालिकाले जनाएको छ ।