close

इन्स्टाग्राम पोस्ट शेयर गर्ने पाँच जनालाई जनही १० हजार डलर दिँदै मिस्टर बिस्ट

टेकपाना टेकपाना

बैशाख २५, २०८० १३:१२

इन्स्टाग्राम पोस्ट शेयर गर्ने पाँच जनालाई जनही १० हजार डलर दिँदै मिस्टर बिस्ट

काठमाडौं । ‘मिस्टर बिस्ट’ उपनामले परिचित युट्युबर जिम्मी डोनाल्डनले आफ्नो जन्मदिनको अवसरमा पाँच जनालाई ५० हजार डलर (करिब ६५ लाख रुपैयाँ) उपहार दिने भएका छन् । बिस्टले सोमबार इन्स्टाग्राममा एक पोस्ट गर्दै यस्तो घोषणा गरेका हुन् ।

उनले पोस्ट गरेको फोटो आफ्नो स्टोरीमा शेयर गर्नेमध्ये पाँच जना भाग्यशाली व्यक्तिले जनही १० हजार डलर गिभअवे स्वरुप पाउनेछन् । 

"आज मेरो जन्मदिन," मिस्टर बिस्टले दुई करोड ८० लाख बढी फलोअर भएको आफ्नो आधिकारिक इन्स्टाग्राम अकाउन्टमा एक पोस्ट राख्दै लेखेका छन्, "त्यसैले म पाँच जना फलोअरलाई ५० हजार अमेरिकी डलर दिँदैछु । तपाईँहरूले कमेन्टमा कसैलाई ट्याग गरेर यो पोस्ट आफ्नो स्टोरीमा शेयर गर्नुपर्ने हुन्छ । यदि मलाई फलो गर्नुभएको छैन भने तपाईंले जिते पनि म पैसा दिन्नँ । अबको ७२ घण्टामा विजेता छानिनेछन्, र प्रमाणसहित विजेता सार्वजनिक गरिनेछ ।"

बिस्टको उक्त पोस्टमा अहिलेसम्म ५३ लाख बढी लाइक र ४२ लाख बढी कमेन्ट आइसकेको छ । विभिन्न नेपाली इन्स्टाग्राम प्रयोगकर्ताले पनि आफ्नो स्टोरीमा मिस्टर बिस्टको उक्त पोस्ट शेयर गरेका छन् । 

परोपकारी युट्युबरका रूपमा परिचित मिस्टर बिस्ट विभिन्न व्यक्तिलाई विभिन्न तरिकाले आर्थिक सहयोग गर्दै आएका छन् ।

उनले पछिल्लो समय एक हजार बहिरा व्यक्ति (जसले पहिल्यै श्रवणशक्ति गुमाइसकेका थिए)लाई श्रवण शक्ति दिने मसिन वितरण गरेको भिडिओ सार्वजनिक गरेका छन् ।

करिब तीन महिनाअघि बिस्टले एक हजार दृष्टिविहीनको आँखाको शल्यक्रियाका गरेको भिडिओ सार्वजनिक गरेका थिए ।

मिस्टर बिस्टकाे युट्युब च्यानलमा १५ करोड १० लाख बढी सब्स्क्राइबर छन् । विभिन्न व्यक्ति तथा संस्थाहरूलाई आर्थिक सहयोग गर्दै आएका बिस्ट प्रकृति र प्राकृतिक स्रोत बचाउने कुरामा पनि उत्तिकै सक्रिय छन् ।

पछिल्लो अध्यावधिक: बैशाख २५, २०८० १३:३५