काठमाडौं । अब विदेशबाट आउने नेपाली नागरिकले आफ्नो साथमा दुई ओटा मोबाइल ल्याउन पाउने भएका छन् ।
मंंगलबार बसेको मन्त्रिपरिषदको बैठकले झिटीगुन्टा नियमावली संशोधन गर्दै आफ्नो साथमा दुई ओटा मोबाइल ल्याउन पाउने व्यवस्था गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।
यसका लागि श्रम मन्त्रालय र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आवश्यक तयारी गरी कार्यान्वयनमा लैजाने उनले उल्लेख गरिन् ।
यसअघि वैदेशिक रोजगारीबाट फर्किएका नेपालीले एउटा फोनमात्र ल्याउन पाउने व्यवस्था थियो । यही व्यवस्थाका कारण मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) कार्यान्वयन हुन सकेको थिएन ।
चौतर्फी विरोध हुन थालेपछि गत पुस १५ मा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) तत्काल लागू नगर्न निर्देशन दिएका थिए ।
भन्सार छली तथा अवैध तवरबाट भित्रिने फोनको कारोबार नियन्त्रण गर्न नेपाल दूरसञ्चार प्राधिकरणले एमडीएमएस तयार पारेको हाे । मन्त्रिपरिषद्को मंगलबारको निर्णयपछि याे प्रणाली लागू गर्ने बाटो खुलेको छ ।