close

लामो समयसम्म निष्क्रिय ट्वीटर अकाउन्टको फलोअर घट्ने

टेकपाना टेकपाना

बैशाख २६, २०८० १८:४८

लामो समयसम्म निष्क्रिय ट्वीटर अकाउन्टको फलोअर घट्ने

काठमाडौं । लामो समय सक्रिय नहुने ट्वीटर अकाउन्टको फलोअर घट्ने भएको छ । सोमबार एक ट्वीट गर्दै कम्पनीका मालिक एलन मस्कले वर्षौं सक्रिय नहुने ट्वीटर अकाउन्टमा फलोअरको सङ्ख्या घट्ने उल्लेख गरेका हुन् ।

विशेषगरी ट्वीटर अकाउन्ट खोल्ने र ह्यान्डल रिजर्भ गर्ने (कुनै कम्पनीको युजरनेम लिने) अकाउन्ट धेरै भएकाले त्यसो गर्न लागेको मस्कले संकेत दिएका छन् ।

"हामी धेरै वर्षदेखि कुनै पनि गतिविधि नभएका अकाउन्ट पर्ग (सफा) गर्दैछौं," उनले ट्वीटमा लेखेका छन्, "त्यसैले तपाईँले सम्भवतः त्यस्ता अकाउन्टमा फलोअरको सङ्ख्या घटेको देख्नुहुनेछ ।"

यसमा धेरै वर्ष भन्नाले ठ्याक्कै कति वर्ष भन्ने स्पष्ट छैन । यसको पूर्ण जानकारी थाहा पाउन हामीले ट्वीटरको आधिकारिक विज्ञप्ति पर्खिनुपर्ने हुन्छ ।

मस्कले यसअघि अन्तर्राष्ट्रिय सञ्चारमाध्यम एनपीआरलाई ट्वीटरमा निष्क्रिय भएको भन्दै सक्रिय हुन चेतावनी दिएका थिए । अन्यथा मस्कले उक्त ट्वीटर ह्यान्डलको युजरनेम अरुलाई उपलब्ध गराउने बताएका थिए ।

उक्त सञ्चारमाध्यमलाई ट्वीटरमा 'स्टेट-एफिलेटेट मिडिया'को लेबल दिएपछि सो कम्पनीले ट्वीटर प्रयोग गर्न छोडेको थियो । मस्कले बारम्बार एनपीआरलाई ईमेल लेख्दै निश्चित समयसम्म निष्क्रिय रहेका ह्यान्डललाई रिसाइकल गर्ने र यस्तो नीति सबै अकाउन्टहरूमा लागू हुने बताउँदै आएका थिए ।

तर, एनपीआर मस्कले भनेजस्तो धेरै वर्ष निष्क्रिय भएको छैन । उक्त कम्पनीबाट गत अप्रिल १२ मा अन्तिम ट्वीट गरिएको थियो । त्यसैले यो धेरै वर्ष भन्नुको अर्थ स्पष्ट नभएको विभिन्न सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

मस्कले सो ट्वीट राखेपछि एक इन्जिनियर जोन कारम्याक मस्कको ट्वीटमा रिप्लाइ दिँदै निष्क्रिय अकाउन्टलाई डिलिट नगर्न सुझाव दिएका छन् । उनी भन्छन्, "मैले गलत तरिकाले पनि पढिरहेको हुनसक्छु । तर, यदि तपाईं निष्क्रिय अकाउन्ट डिलिट गर्दै हुनुहुन्छ भने म कडा रूपमा त्यसको प्रतिवाद गर्छु ।"

मानिसहरूलाई उनीहरूका कति प्रयोगकर्ता निष्क्रिय छन् भन्ने कुराको जानकारी उपलब्ध गराउने विचार सही भएको उनको भनाइ छ । तर, अकाउन्ट नै डिलिट गरिदिने विचार चाहिँ सरासर गलत भएको उनको तर्क छ ।

"मैले १० वर्षअघि राखेका ट्वीटहरूमा अहिले पनि लाइक आइरहेको हुन्छ," ज्याक लेख्छन्, "त्यसमा रिप्लाई गर्ने कैयौं प्रयोगकर्ता निष्क्रिय होलान् । यदि तपाईंले निष्क्रिय अकाउन्ट हटाउनुभयो भने त्यहाँ आएका रिप्लाई हराउँछन् ।"

ज्याकको थ्रेडलाई रिप्लाई गर्दै मस्कले त्यस्ता निष्क्रिय अकाउन्टलाई आर्काइभ (अभिलेख) गर्ने जनाएका छन् । "तर, प्रयोगमा नआएका ट्वीटर ह्यान्डल अरूलाई उपलब्ध गराउन महत्त्वपूर्ण हुन्छ," मस्कले लेखेका छन् । ज्याकले अर्को थ्रेड राख्दै केहीले आफ्नो पुरानो ह्यान्डल पाउँदा उत्साहित हुने जनाएका छन् ।

पछिल्लो अध्यावधिक: बैशाख २६, २०८० १९:२१