काठमाडौं । गुगलको इमेज सर्च टुलले अब आर्टिफिसियल इन्टेलिजेन्स (एआई)ले तयार पारेको नक्कली फोटो पहिचान गर्ने भएकाे छ । पछिल्लो समय तस्वीर तयार पार्ने एआई टुल जस्तै ‘मिड जर्नी’ र ‘स्टेबल डिफ्युजन’को बढ्दो प्रयोगले इन्टरनेटमा नक्कली फोटो र सूचना फैलिनसक्ने भन्दै कम्पनीले इमेज सर्चमा यो फिचर ल्याएको हो ।
गुगलले बुधबार आयोजना गरेको 'गुगल आई/ओ २०२३' मा इमेज सर्चमा उक्त फिचर ल्याउन लागेको घोषणा गरेको हो । कम्पनीका अनुसार 'अबाउट दिस फोटो' नामक उक्त फिचर चाँडै सार्वजनिक हुनेछ ।
हुन त यो फिचर अहिलेको 'अबाउट दिस'मा फोटो ड्रप गरेर सर्च गरेजस्तै हुनेछ । तर, गुगल इमेज सर्चमा इन्ट्रिगेट हुनाले यो विशेष भएको कम्पनीको जिकिर छ ।
गुगलमा त्यो फोटोसँग मिल्दोजुल्दो फोटो कहिले कहिले इन्डेक्स भए भनेर पनि हेर्न सकिनेछ । त्यस्तै पहिलोपटक उक्त फोटो कुन वेबसाइटबाट देखिएको थियो भन्ने कुरा पनि त्यही अप्सनबाट हेर्न सकिनेछ ।
यसका लागि गुगलले चन्द्रमामा अवतरण गरेको नक्कली फोटो राखेर उदाहरण दिएको थियो । त्यसपछि गुगल इमेज सर्चमा आउन लागेको नयाँ फिचरले कसरी उक्त फोटो विभिन्न आर्टिकलमा राखियो भन्ने देखाएको थियो ।
यो फिचरलाई बुझ्न अर्को उदाहरणको सहायता लगौं । यदि कुनै ब्रेकिङ न्युजको घटनाको फोटो पहिलो पटक सीएनएन, रोयटर्स वा गेट्टीमा सार्वजनिक भयो । यस्तोमा उक्त फोटो आधिकारिक हो र समाचार पनि सत्य हो भन्ने बुझिन्छ । त्यस्तै यदि कुनै फोटो पहिलो पटक अन्य प्लेटफर्ममा भेटिएको छ वा कसैले अपुष्ट सूचना राखेर फोटो राखेको छ भने नक्कली हो भन्ने पहिचान गर्न सकिन्छ ।
यो फिचर सबैभन्दा पहिले अमेरिकामा र त्यसपछि अन्य देशमा उपलब्ध हुने कम्पनीले जनाएको छ । विशेषगरी गलत सूचना फैलिने क्रम तीव्र भएकाले छिट्टै फिचर सार्वजनिक गर्ने कम्पनीको प्रतिबद्धता छ ।
त्यस्तै गुगलले आफ्नै जेनेरेटिभ एआई टुल घोषणा गरेको छ । विशेषगरी उक्त टुलले सबै फोटोको मेटा डेटा समावेश गरेको गुगलको भनाइ छ । यसले कुनै पनि फोटो गुगलमा देखिए पनि उक्त फोटो एआईले तयार पारेको हो वा हाेइन भन्ने पहिचान गर्छ ।
कम्पनीका अनुसार क्रियटर तथा पब्लिसरले यही प्रविधि प्रयोग गरेर आफ्ना तस्वीर लेबल गर्न सक्नेछन् ।