close

एलन मस्कले ट्वीटरको सीईओ फेला परेको ट्वीट गर्दा टेस्लाको शेयर बढ्यो

टेकपाना टेकपाना

बैशाख ३०, २०८० ६:११

एलन मस्कले ट्वीटरको सीईओ फेला परेको ट्वीट गर्दा टेस्लाको शेयर बढ्यो

काठमाडौं । ट्वीटरका मालिक एलन मस्कले अर्को महिना ट्वीटरमा नयाँ प्रमुख कार्यकारी अधिकृत (सीईओ) आउने घोषणा गरेलगत्तै उनको अर्को कम्पनी टेस्लाको शेयर बढेको छ ।

मस्कले बिहीबार राति एक ट्वीट गर्दै अबको छ हप्तामा ट्वीटरले नयाँ सीईओ पाउने बताएपछि टेस्लाको शेयर बढेको हो । मस्कले गत अक्टोबरमा ४४ अर्ब डलर खर्च गर्दै ट्वीटरको सम्पूर्ण शेयर खरिद गरेका थिए ।

ट्वीटरको शेयर खरिद गरेसँगै टेस्लाको शेयर निरन्तर ओरालो लागिरहेको थियो । अन्तिम पटक ४ नोभेम्बर २०२१ मा टेस्लाको शेयर इतिहासको सबैभन्दा बढी अर्थात् प्रति शेयर मूल्य ४०९.९७ अमेरिकी डलर पुगेको थियो । त्यही समयदेखि अहिलेसम्म कम्पनीको शेयर ५० प्रतिशतभन्दा बढीले घटिसकेको छ ।

विभिन्न कम्पनीको शेयर मूल्यको सूचना दिने प्लेटफर्म इन्भेस्टरका अनुसार १२ मे २०२३ मा टेस्लाको प्रति शेयर मूल्य २.१ प्रतिशतले बढेर १७२.०८ डलर पुगेको छ । यससँगै मस्कको सम्पत्ति २.३ अर्ब डलरले बढेर १७९.५ अर्ब अमेरिकी डलर पुगेको फोर्ब्स म्यागेजिनले उल्लेख गरेको छ ।

इन्भेस्टरका अनुसार मस्कले ट्वीटरका लागि नयाँ सीईओ फेला पारेको खबर सार्वजनिक गरेसँगै टेस्लाको शेयर बढेको हो ।

पछिल्लो अध्यावधिक: बैशाख ३०, २०८० ६:११