close

टोपबहादुर रायमाझीको नक्कली फेसबुक अकाउन्ट बनाउनेमाथि अनुसन्धान गर्दै साइबर ब्युरो

टेकपाना टेकपाना

जेठ १, २०८० ११:४६

टोपबहादुर रायमाझीको नक्कली फेसबुक अकाउन्ट बनाउनेमाथि अनुसन्धान गर्दै साइबर ब्युरो

काठमाडौं । पूर्व उप-प्रधानमन्त्री टोप बहादुर रायमाझीको नाममा नक्कली फेसबुक अकाउन्ट बनाउने व्यक्तिमाथि साइबर ब्यूरोले अनुसन्धान अगाडि बढाएको छ । 

नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो नाम आएपछि रायमाझी फरार भएका थिए । प्रहरीले उनको खोजी गरिरहेको अवस्थामा फेक अकाउन्ट बनाएर जथाभाबी लेखेर अनुसन्धान प्रक्रिया प्रभाव पारेको भन्दै ब्यूरोले अनुसन्धान अगाडि बढाएको हो ।

सामाजिक सञ्जाल फेसबुकमा नक्कली अकाउन्ट बनाएर जथाभाबी पोस्ट गरेपछि यसबारे बुझ्न धेरैजनाले साइबर ब्यूरोमा सम्पर्क गरेको ब्यूरोले जनाएको छ । 

"कुनै उजुरी त आएको छैन तर हामीलाई यो अकाउन्टबारे धेरैले बुझ्न अनुरोध गर्नुभएको थियो," टेकपानासँग कुरा गर्दै साइबर ब्यूरोका प्रवक्ता एवम् प्रहरी उपरीक्षक पशुपति कुमार रायले भने, "सोही अनुरूप अनुसन्धान अगाडि बढाएका छौं । उक्त अकाउन्ट नक्कली भएको निष्कर्ष भने निकालेका छौं ।"

नक्कली भनिएको उक्त अकाउन्ट अहिले डिएक्टिभेट भएको प्रहरीले आशंका गरेको छ । यद्यपि प्रहरीले उक्त अकाउन्टबाट सूचना संकलन गरेर अनुसन्धान अगाडि बढाएको रायले ‍बताए । 

पछिल्लो अध्यावधिक: जेठ १, २०८० ११:५१