close

‘नमस्ते पे’ को क्यूआर कोडमार्फत विभिन्न सेवाको बिल भुक्तानी गर्न सकिने

टेकपाना टेकपाना

जेठ १, २०८० १७:१

‘नमस्ते पे’ को क्यूआर कोडमार्फत विभिन्न सेवाको बिल भुक्तानी गर्न सकिने

काठमाडौं । नेपाल टेलिकमले ‘नमस्ते पे’ को क्यूआर कोडमार्फत विभिन्न सेवाको सहजै बिल भुक्तानी गर्नसक्ने सुविधा ल्याएको छ । कम्पनीले हाल सुन्धारा र बबरमहल शाखामा रहेका सम्पूर्ण काउन्टरहरूमा क्यूआरमार्फत भुक्तानीको सुविधा सञ्चालनमा ल्याएको हाे ।

साेमबार आयोजित एक कार्यक्रममा नेपाल टेलिकम, प्रादेशिक निर्देशनालय काठमाडौं, बागमती प्रदेशकी निर्देशक सविना मास्के प्रधान र नेपाल डिजिटल पेमेन्ट्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रवीणराज पोखरेलले यससम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरे ।

सो अवसरमा टेलिकम प्रादेशिक निर्देशनालयकी निर्देशक प्रधानले भनिन्, ‘नेपाल टेलिकमले आफ्ना काउन्टरहरूमा डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्न पहिलो पाइला चालेको छ । प्रयोगकर्ताहरूले अब नमस्ते पेको क्यूआर प्रयोग गरेर बिल तिर्न सक्नुहुनेछ । अब प्रयोगकर्ताहरूले नगद झिक्न बैंकमा जानुपर्ने झन्झटलाई कम गरी बिल भुक्तानीलाई सजिलो र छिटो बनाउन मद्दत गर्नेछ ।’

नेपाल डिजिटल पेमेन्ट्स कम्पनीका सीईओ पोखरेलले भने, ''डिजिटल भुक्तानी सेवा प्रदान गर्ने अवसर पाएकोमा हामी खुसी भएका छौ र आगामी दिनमा थप सहकार्य गर्न प्रोत्साहित भएका छौँ । यसले नगदरहित समाज सिर्जना गर्ने प्रयासमा उल्लेख्य भूमिका खेल्नेछ । आधुनिक प्रविधिको प्रयोगमार्फत सरल र सुरक्षित डिजिटल भुक्तानी सेवा प्रदान गरी बैंक र डिजिटल प्रविधिमा पहुँच भएका तथा नभएका सबै उपभोक्तालाई आधुनिक वित्तीय सेवा प्रदान गर्नका लागि यसले महत्वपूर्ण भूमिका खेल्नेछ ।’

हाल नेपाल टेलिकमको सुन्धारा र बबरमहल काउन्टरमा गई नमस्ते पेको क्यूआर प्रयोग गरी बिल भुक्तानी गर्न सकिनेछ । यो सेवालाई आगामी दिनमा अन्य कार्यालयहरूमा समेत विस्तार गरिनेछ  ।

कम्पनीका नयाँ र विद्यमान दुवै प्रयोगकर्ताले क्यूआरमार्फत भुक्तानी गरेवापत आफ्नो वालेटमा १० प्रतिशत क्याशब्याक पाउने व्यवस्थासमेत गरिएको छ ।

नेपाल टेलिकम र राष्ट्रिय वाणिज्य बैंकको सहकार्यमा सञ्चालित नेपाल डिजिटल पेमेन्ट्स कम्पनीले ‘नमस्ते पे’ सञ्चालन गरिरहेको छ । 

पछिल्लो अध्यावधिक: जेठ १, २०८० १७:१६