close

अर्को व्यक्तिको खाताबाट रकम झिक्ने गरिएको भन्दै सतर्क रहन नबिल बैंकको आग्रह

टेकपाना टेकपाना

जेठ २, २०८० १३:४०

अर्को व्यक्तिको खाताबाट रकम झिक्ने गरिएको भन्दै सतर्क रहन नबिल बैंकको आग्रह

काठमाडौं । एउटा व्यक्तिको खाता प्रयोग गरी अर्कै व्यक्तिले रकम झिकेको विषयमा नबिल बैंकले ध्यानाकर्षण जनाएको छ । सामाजिक सञ्जाल तथा मिडियाहरूमा यस किसिमका विषयहरू आइरहेको भन्दै बैंकले आफ्ना ग्राहकलाई सतर्क रहन आग्रह गरेको हो ।

"हामी हाम्रा ग्राहक महानुभावहरूको खाता र व्यक्तिगत सूचनाको गोपनीयतालाई उच्च गम्भीरताका साथ लिन्छौं र तपाईंहरूलाई पनि उच्च सतर्कता अपनाउन हार्दिक अनुरोध गर्दछौं," बैंकले जारी गरेको सूचनामा भनिएको छ । खाता र व्यक्तिगत जानकारी सुरक्षित राख्नका लागि अरूले सहजै अनुमान लगाउन नसक्ने बलियो पासवर्ड राख्न र धेरै खातामा एउटै पासवर्ड प्रयोग नगर्न समेत बैंकले आग्रह गरेको छ ।

बैंकले अगाडि भनेको छ, "बैंकको पासवर्ड वा खाता सम्बन्धी र अन्य संवेदनशील जानकारी परिवार, आफन्त वा साथीहरूलाई समेत उपलब्ध नगराउन र जानकारी नदिनको लागि पनि हाम्रो अनुरोध छ ।"

त्यस्तै बैंकको नाम लिएर मोबाइलमा आएको ओटीपी कोड वा अन्य जानकारी माग्ने गरिएको भए खबर  गर्न समेत भनिएको छ ।

बैंकले ईमेल वा फोनमार्फत प्रयोगकर्ताको पासवर्ड वा अन्य गोप्य राख्नुपर्ने जानकारीहरू नसोध्ने भएकाले बैंकको नाम लिएर मोबाइल वा ईमेलमा आएको कोड कसैले मागेको खण्डमा उपलब्ध गराउनु हुँदैन ।  

 

 

पछिल्लो अध्यावधिक: जेठ २, २०८० १३:४१