काठमाडौं । भारतको राजधानी नयाँ दिल्ली नजिकैको ग्रेटर नोएडामा अमेजन कम्पनीको गिफ्ट भौचरको लोभमा एक महिलाले ५१ लाख भारतीय रुपैयाँ गुमाएकी छिन् । मिनु रानी नामकी महिलालाई पहिलो पटक ठगहरूको एउटा समूहले ह्वाट्सएप ग्रुपमा जोडेको थियो । त्यसपछि उक्त समूहले भौचर पठाएर लोभ्याउन सुरु गरेको बीबीसी हिन्दीले जनाएको छ । ठगहरूको प्रलोभनको पर्दै जाँदा महिलाले ५१ लाख भारू गुमाएपछि गएको ३ मार्चमा प्रहरीको साइबर अपराध एकाईमा उजुरी दिएकी थिइन् ।
समाचार एजेन्सी पीटीआईका अनुसार, यो ठगी निकै बौद्धिक र लामो प्रक्रियाबाट भएको थियो । सुरुमा मिनु रानीलाई हरि सिंह नामका एक व्यक्तिले सामाजिक सञ्जालमा सम्पर्क गरेर आफूलाई १५ वर्षको अनुभव भएको लगानी गाइडको रूपमा चिनाएका थिए । लगानीबारे बुझ्नको लागि एउटा च्याट ग्रुपमा समावेश हुन उनले सुझाव दिएका थिए । त्यसपछि हरि सिंहको समूहका मानिसले मिनु रानीको अन्तर्वार्ता समेत लिए र विभिन्न सर्तसहित ह्वाट्सएपको च्याट ग्रुपमा समावेश गराएका थिए ।
पीडित मिनु रानीले शेयर बजारबाट बढी नाफा कमाउनकै लागि हरि सिंहकै भरोसामा ह्वाट्सएप ग्रुपमा आबद्ध भएको बताएकी छिन् । प्रहरीलाई दिएको उजुरीमा मीनु रानीले केही समयपछि ह्वाट्सएप ग्रुपमा आरती सिंहसँग सम्पर्क भएको उल्लेख गरेकी छिन् । आरतीले मिनुलाई भनेकी थिइन् “हरि सिंहले अमेजन गिफ्ट भौचर किनेका छन्, जसको मूल्य एक हजार रुपैयाँ छ । हरेक महिला सदस्यले लगानी गर्न सकून् भनेरै सस्तो भौचरको व्यवस्था गरिएको हो ।”
आरतीले मिनुलाई भौचर प्राप्त गर्नका लागि अमेजन अकाउन्टमा लग इन गर्न सिकाइन । मिनुले पनि आरतीले भने अनुसार नै अमेजन अकाउन्टको ब्यालेन्समा एक हजार रुपैयाँ जम्मा गरिन् । विस्तारै हरि सिंह र उनको ह्वाट्सएप ग्रुपप्रति मिनु रानीको विश्वास बढ्यो।
त्यसपछि, ठगहरूले शेयर बजारमा पैसा लगानी गरेर महिनामा तीनदेखि पाँच गुणा नाफा कमाउन सकिने लोभ देखाए । प्रहरी उपरीक्षक प्रीति यादवले पीटीआईलाई बताए अनुसार मिनुको अकाउन्ट खोलेपछि ठगी गर्ने हरि सिंहले सुरुमा शेयर बजारमा ५० हजार रुपैयाँ लगानी गर्न आग्रह गरेका थिए । थप विश्वास दिलाउन ठगहरूले मिनुको खातामा नाफा बापत भन्दै केही रकम जम्मा गरी दिएका थिए ।
त्यसपछि मिनु थप लोभिइन् । उनले ठगहरूले दिएको एप डाउनलोड गरिन् र उनीहरूले भनेअनुसार नै लगइन गरिन् । एपमा आफ्नो नाफा बढ्दै गएको देखेपछि मिनुले पति, सासू र अन्य आफन्तबाट ऋण लिएर लगानी बढाउँदै गइन् ।
समाचारमा उल्लेख भए अनुसार ती ठगहरूले धेरै चलाखीपूर्वक मिनु रानीको विश्वास जिते र नाफा कमाउने उनको इच्छाको दुरुपयोग गरे । मिनुले सम्भावित खतराको आँकलन समेत गर्न नसक्नेगरी ठगहरूले आफ्नो विश्वासमा लिएका थिए ।
प्रहरी अधिकारी प्रीति यादवका अनुसार, ठगी गर्नेहरूले लगानीबाट धेरै लाभ भएको देखाउन नक्कली एप प्रयोग गरेर पीडितलाई बढी भन्दा बढी पैसा लगानी गर्न लोभ्याएका थिए । लोभमा परेर मिनुले ५१ लाख भारू ठगहरूको खातामा जम्मा गरिसकेकी थिइन् ।
मिनुले थप लगानीका लागि एक जना आफन्तबाट ऋण माग्ने क्रममा आफू ठगिएको थाहा पाएकी थिइन् । उनले जुन आफन्तसँग ऋण मागेकी थिइन्, ती आफन्तले पछिल्लो समय लगानीको नाममा यसरी ठगी भइरहेको छ भनेर जानकारी दिएपछि मिनु छाँगाबाट खसेजस्तै भइन् ।
आफू ठगिएको थाहा पाएपछि मिनुले पैसा फिर्ता लिनका लागि ठगहरूसँग सम्पर्क गर्ने प्रयास गरिन्, तर सफल भइनन् । साइबर अपराध एकाईले पीडितले गुमाएको रकमको चार लाख ८० हजार रुपैयाँ जफत गरेको छ भने बाँकी रकम फिर्ता गर्ने प्रयास भइरहेको जानकारी दिएको छ ।
यो घटनापछि अमेजन सहित अन्य प्रमुख अनलाइन कम्पनीहरूले उपभोक्ताहरूलाई अनलाइन ठगी बारेमा सतर्क रहन सन्देश जारी गरिरहेको बीबीसी हिन्दीको खबरमा उल्लेख छ । अमेजनले आफ्नो वेबसाइटमा उपहार भौचरको माध्यमबाट ठगीको बारेमा चेतावनी सन्देशहरू जारी गरिसकेको छ ।
विभिन्न ठगहरूले ईमेल, फोन वा टेक्स्टमार्फत भुक्तानी, अकाउन्टबारे जानकारी वा ओटीपीको लागि सोध्ने, पैसा लगानी गरेर नाफा दोब्बर गर्ने योजनामा भाग लिन आग्रह गर्ने लगायतका काम गरिरहेकाले सतर्कता अपनाउन अमेजनले आग्रह गरेको छ ।
ठगीका लागि एउटा प्रसिद्ध ब्रान्डको भौचर कार्ड र उपहार कार्डको लोभ देखाउने क्रम बढेकाले पनि विशेष ध्यान दिन कम्पनीले भनेको छ । भारतीय अनलाइन समाचार बिजनेस वर्ल्डका अनुसार हालै अर्थ मन्त्रालयले वक्तव्य जारी गर्दै आर्थिक वर्ष २०२३/२४ मा मात्रै भारतीयहरूको खाताबाट १७७ करोड भारूभन्दा बढी चोरी भएको बताएको छ । पछिल्लो १० वर्षमा अनलाइन लेनदेनको प्रयोग बढ्दै जाँदा साइबर अपराधीहरूको सङ्ख्या पनि बढ्दै गएको छ र गम्भीर समस्याहरू पनि देखिएका छन् । सरकारले मानिसहरूलाई सतर्क रहन र साइबर सुरक्षाका उपायहरू अपनाउन आग्रह गरेको छ ।