close

ए‍प्पलको प्रविधि चोरी चीन भाग्न लागेका पूर्व कर्मचारीमाथि कारबाही

टेकपाना टेकपाना

जेठ ३, २०८० ९:५१

ए‍प्पलको प्रविधि चोरी चीन भाग्न लागेका पूर्व कर्मचारीमाथि कारबाही

काठमाडौं । कम्पनीको प्रविधि चोरी गरी चीन भाग्न लागेको एप्पलका एक पूर्व कर्मचारीलाई कारबाही गरेको कुरा बाहिर आएको  छ । एप्पलको व्यापारिक रणनीतिसँगै स्वचालित प्रणाली, सेल्फ ड्राइभिङ कार लगायतका विभिन्न योजनामा प्रयोग भइरहेको प्रविधिलाई चीन, रुस र इरानको लागि चोरी गरेर चीन भाग्न लागेको आरोपमा कम्पनीका पूर्व कर्मचारीलाई कारबाही गरिएको हो ।

रोयटर्समा प्रकाशित समाचार अनुसार ३५ वर्षीय विबाओ वाङ एप्पलका पूर्व कर्माचारी हुन् । उनले सन् २०१६ देखि एप्पलमा इन्जिनियरका रुपमा काम गरिरहेका थिए । 

तर सन् २०१७ मा उनले अमेरिकास्थित चिनियाँ कम्पनीमा नयाँ जागिरको सुरु गरे जसको विषयमा उनले एप्पललाई चार महिनापछि मात्र जानकारी दिएका थिए । उनले उक्त चिनियाँ कम्पनीसँग स्वचालित कारको लागि काम गरिरहेका थिए । 

यता एप्पलमा राजीनामा दिनुभन्दा चार महिना अगाडिदेखि नै उनले सो चिनियाँ कम्पनीमा पनि काम गर्न सुरु गरिसकेका थिए । अर्को कम्पनीमा काम गरेको चार महिनापछि मात्र उनले एप्पल छोडेका हुन् ।

यद्यपि जागिर छोडिसकेपछि वाङसँग कम्पनीको संवेदनशील डेटाहरू भएको कुरा कम्पनीले पत्ता लगायो । सन् २०१८ मा वाङको घरमा तलासी गर्दा प्रहरीले ठूलो मात्रामा एप्पलको डेटा फेला पारेको थियो । यस लगत्तै उनलाई चीन फर्काइएको अमेरिकी निकायले जानकारी दिएको छ ।

यो मुद्दाको विषयमा आजसम्म कुनै पनि जानकारी बाहिर आएको थिएन । केही समय अगाडि मात्र अमेरिकी निकायले एक प्रेस सम्मेलन गर्दै यो घटनाको जानकारी बाहिर ल्याएको हो । 

एप्पलले सन् २०१४ देखि नै आफ्नो स्वचालित कार 'प्रोजेक्ट टाइटान' मा काम गरिरहेको छ । एप्पलले यो कार सन् २०२६ मात्र सार्वजनिक गर्ने योजना बनाएको छ । यस विषयमा एप्पलले भने कुनै प्रतिक्रिया नदिएको रोयटर्समा उल्लेख छ । 
 

पछिल्लो अध्यावधिक: जेठ ३, २०८० ९:५३