काठमाडौं । वैज्ञानिकहरूले शनि ग्रहअन्तर्गत थप ६२ चन्द्रमा फेला पारेका छन् । योसँगै कूल १४५ संख्यासहित शनि सबैभन्दा धेरै चन्द्रमा हुने ग्रह बनेको छ । एक विज्ञप्ति जारी गर्दै युनिभर्सिटी अफ ब्रिटिश कोलम्बियाले यसको जानकारी दिएको हो ।
प्राध्यापक एडवर्ड एस्टनको नेतृत्वमा रहेको अनुसन्धान टोलीले शनि ग्रहको यी चन्द्रमाहरू पत्ता लगाउन ‘सिफ्ट र स्ट्याक’ नामक प्रविधिको प्रयोग गरेका थिए । यस प्रविधि प्रयोग गर्दा आकाशमा भएको वस्तुलाई ट्रयाक गर्ने गरी लगातार तस्वीर खिचिन्छ ।
यसो गर्दा धमिलो भएको वस्तुसमेत चम्किलो देखिन्छ । यसका लागि हवाईको मौना केआको डाँडोमा राखिएको क्यानडा-फ्रान्स-हवाई टेलिस्कोप (सीएफएचटी) को सन् २०१९ देखि २०२१ सम्मको डेटा प्रयोग गरिएको थियो ।
यस प्रविधिमार्फत वैज्ञानिकहरूले २.५ किलोमिटर मात्र व्यास भएका चन्द्रमाहरू समेत फेला पारेका छन् । ती आकारमा धेरै सानो भएका वस्तुहरू शनि ग्रहको चन्द्रमा नै भएको पुष्टि गर्न उनीहरूलाई धेरै समय लागेको थियो ।
तर लगातार २४ महिनाको अध्ययनपछि ती वस्तुहरू चन्द्रमा नै भएको उनीहरूले पुष्टि गरेका हुन् । यो नयाँ खोज हुनुअघि यस ग्रहको ८३ चन्द्रमाहरूलाई अन्तर्राष्ट्रिय खगोलीय संघ (आईएयू)ले मान्यता दिएको थियो ।
कुनै पनि वस्तुलाई ग्रहको चन्द्रमा मान्न आईएयूले आकार, कक्ष, गुरुत्वाकर्षण बल आदिमा तोकेको मापदण्ड पूरा गर्नुपर्ने हुन्छ । अहिले पत्ता लागेका यी नयाँ चन्द्रमाहरू धेरै सानो, मधुरो भएकाले पत्ता लगाउन निकै समय लागेको बताइएको छ ।
त्यस्तै कुनै पनि ग्रहको चन्द्रमा पत्ता लगाउन यो प्रविधि निकै उपयोगी हुने देखिएको छ । यसैले अन्य ग्रहहरूमा पनि यही प्रविधिमार्फत चन्द्रमाको खोजी गरिने विश्वास गरिएको छ ।
यसअघि वृहस्पती ग्रहमा अधिकतम ९५ ओटा चन्द्रमा रहेको तथ्य बाहिरिएको थियो ।