close

कोशी प्रदेशसभाका सांसदलाई ल्यापटप बाँडिने, छुट्याइयो डेढ करोड रुपैयाँ

टेकपाना टेकपाना

जेठ ३, २०८० १६:४३

कोशी प्रदेशसभाका सांसदलाई ल्यापटप बाँडिने, छुट्याइयो डेढ करोड रुपैयाँ

काठमाडौं । कोशी प्रदेश सरकारले प्रदेशसभाका हरेक सदस्यलाई एक-एक थान ल्यापटप वितरण गर्ने भएको छ । प्रदेशसभाका ९३ सदस्य र सात समितिका सचिवका लागि प्रदेश सरकारले कूल १०० थान ल्यापटप वितरण गर्न लागेकाे हाे ।

आर्थिक मामिला मन्त्रालयसमेत सम्हालेका मुख्यमन्त्री हिक्मतकुमार कार्कीकाे पहलमा काेसी प्रदेशसभा सचिवालयलाई​ डेढ कराेड रुपैयाँ छुट्याइएकाे हाे ।

"प्रदेशसभालाई ई-लेजिस्लेसनमा लाने विषय नीति तथा कार्यक्रममा परेको थियो," टेकपानासँग कुरा गर्दै प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले भने, "अहिले आर्थिक वर्षको अन्तिममा प्रदेशसभा सदस्यहरूलाई एक-एक थान ल्यापटप उपलब्ध गराउने भनेर हामीले सूचना निकालेका छौं ।"

पराजुलीका अनुसार ल्यापटप खरिद प्रक्रिया अगाडि बढिसकेको छ । ल्यापटप पाएपछि सांसदले प्रदेशसभा बैठकको जानकारी, कार्यसूची, विधेयक लगायतका बारेमा अनलाइन माध्यमबाट जानकारी पाउने उनले बताए ।

ल्यापटप खरिदका लागि प्रदेशको वेबसाइट र सार्वजनिक खरिद अनुगमन कार्यालयमा सूचना प्रकाशन गरिएको छ ।

पछिल्लो अध्यावधिक: जेठ ३, २०८० १७:२६