close

डिजिटल युगमा गोप्य, गोप्य हुँदो रहेनछः विष्णु रिमाल

टेकपाना टेकपाना

जेठ १०, २०८० २२:०

डिजिटल युगमा गोप्य, गोप्य हुँदो रहेनछः विष्णु रिमाल

काठमाडौं । धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङ राईलाई 'बौलाहा मेयर'को संज्ञा दिएपछि सामाजिक सञ्जाल र सञ्चारमाध्यममा आलोचित बनेका नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले स्पष्टीकरण दिएका छन् । ​फेसबुकमा बुधबार एक पोस्ट लेख्दै रिमालले गोप्य प्रयोजनका लागि भएको कार्यक्रममा बोलेका कुरा सामाजिक सञ्जालमार्फत बाहिरिएको भन्दै डिजिटल युगमा केही कुरा गोप्य हुन नसकेको उल्लेख गरेका छन् ।

गत शनिबार एमाले निकट महिला संगठन अखिल नेपाल महिला संघको कार्यक्रममा रिमालले हर्क साम्पाङलाई 'बौलाहा मेयर' भनेका थिए । यसपछि साम्पाङले पनि रिमालमाथि तथानाम गाली गर्दै भिडिओ सामग्री र स्ट्याटस शेयर गरिरहेका छन् । सामाजिक सञ्जाल प्रयोगकर्ताहरू पनि रिमालमाथि खनिएका छन् ।

लगातार आलोचित बनेपछि रिमालले आफूले गोप्य प्रयोजनको कार्यक्रममा उक्त कुरा बोलेको जवाफ दिएका छन् । ''डिजिटल युगमा गोप्य, गोप्य रहँदो रहेनछ– कुनै न कुनै तरिकाले ओपन हुँदो रहेछ । हो, यहाँ चाँहि मेरो असावधानी हुनपुग्यो,'' फेसबुकमा उनी लेख्छन् । 

''हामी छर–छिमेकमा, दाजुभाइका बीचमा कुरा गर्दा दाइ सा'प, काका सा'प भन्दैनौँ । लोकल स्ल्याङ्गमा– कालेदाइ, सेतेदाइजस्ता शब्दहरु पनि प्रयोग हुन्छन् । त्यस्तै, त्यो बन्द–बैठकमा कुरा राख्दा अनौपचारिक तबरबाट प्रयोग भएको शब्द/वाक्य/वाक्यांश सार्वजनिक हुँदा सायद अशोभनीय सुनियो । अमर्यादित जस्तो लाग्न पुग्यो।'' 

उनले आफूलाई फ्रन्टलाइन, प्रचार, वाहवाहीभन्दा काममा जोतिन चाहने मान्छेको रूपमा चित्रण गरे । आफूले बोलेको कुरालाई सकारात्मक अर्थ दिने प्रयासमा उनी लेख्छन्, ''त्यसैले म अहिले पनि भन्छु, यो देश बनाउन काममा निर्लिप्त भएर लाग्नै पर्छ, एकप्रकारले भन्ने हो भने हामी “बहुलाउनै” पर्छ ।''

साथै सामाजिक सञ्जालमार्फत आफूलाई साम्पाङले श्रमदान गर्न बोलाएको तर्फ इंगित गर्दै उनी लेख्छन्, ''म पूर्व आउँदा धरानमा पनि आउन सक्छु, मौका मिले त्यहाँ पनि श्रम गरौँला । मौका नमिले पनि म श्रमबाट टाढा छैन ।''

पछिल्लो अध्यावधिक: जेठ १०, २०८० २२:१७