close

नग्न तस्वीरमा किशोरीको फोटो जोडेर दुःख दिने पुरुष पक्राउ

टेकपाना टेकपाना

जेठ १२, २०८० १६:५०

नग्न तस्वीरमा किशोरीको फोटो जोडेर दुःख दिने पुरुष पक्राउ

काठमाडौं । किशाेरीलाई अनलाइनमा दुर्व्यवहार गरेको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा डोटीका ३२ वर्षीय पदमबहादुर खड्का रहेका छन् ।

नग्न तस्वीरमा आफ्नो टाउको जोडेर फेक अकाउन्टबाट दुःख, हैरानी दिन थालेपछि किशोरीले साइबर ब्यूरोमा उजुरी दिएकी थिइन् । 

उनले ब्यूरोलाई दिएको निवेदनमा लेखिएको छ, “तपाईँ को हो ? किन मेरो तस्वीर प्रयोग गरी फेक अकाउन्ट बनाउनु भएको हो ? भनी सोध्दा उक्त नक्कली फेसबुक अकाउन्ट प्रयोगकर्ताले उल्टै "तिमीलाई अब भाइरल बनाउँछु," भनी मेरा सम्पादित तस्वीरहरू म लगायत मेरा साथीहरूलाई समेत पठाई दुःख, हैरानी तथा मानसिक तनाव दिने गरेकोले उक्त व्यक्ति पत्ता लगाई कानून बमोजिम कारबाही गरी पाउँ ।"

उक्त निवेदनका आधारमा अनुसन्धान गर्दै जाँदा साइबर ब्यूरोको टोलीले खड्कालाई बिहीबार काठमाडौंबाट पक्राउ गरेको हो । खड्कामाथि विद्युतीय कारोबार ऐन २०६३, अन्तर्गतको कसूरमा काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद लिई आवश्यक अनुसन्धान भइरहेको ब्यूराेले जनाएकाे छ ।

पछिल्लो अध्यावधिक: जेठ १२, २०८० १७:३०