close

जुम्ला र कालिकोटमा नेपाल टेलिकमको एफटीटीएच सेवा विस्तार

टेकपाना टेकपाना

जेठ १३, २०८० १०:०

जुम्ला र कालिकोटमा नेपाल टेलिकमको एफटीटीएच सेवा विस्तार

काठमाडौं । नेपाल टेलिकमले कर्णाली प्रदेशको जुम्ला र कालिकोटमा एफटीटीएच सेवा ‘एनटी फाइबर’ विस्तार गरेको छ । जेठ १० गते कालिकोट र जेठ ११ गते जुम्लामा सो सेवाको आरम्भ गरिएको कम्पनीले जनाएको छ ।

नेपाल टेलिकमको प्रादेशिक निर्देशनालय सुर्खेत, कर्णाली प्रदेशका निर्देशक मिलन श्रेष्ठले दुवै जिल्लामा ग्राहकलाई आवश्यक सीपीई हस्तान्तरण गरी एनटी फाइबर सेवाको सुरुवात गरे ।

कम्पनीका अनुसार एनटी फाइबरमार्फत अत्याधुनिक प्रविधिको प्रयोग गरी अब त्यस क्षेत्रका सेवाग्राहीले एउटै तारबाट एचडी गुणस्तरको आवाजसहितको टेलिफोन, तीव्र गतिको इन्टरनेट र टेलिभिजन सेवा पनि प्रयोग गर्न सक्नेछन् ।

यसअघि नै कम्पनीले कर्णाली प्रदेशका सुर्खेत, सल्यान, दैलेख, जाजरकोट र रुकुम पश्चिममा एफटीटीएच सेवा उपलब्ध गराइसकेको छ ।

फाइबर टु द होम (एनटी फाइबर) सेवाको हाल उपलब्ध अफर अन्तर्गतको प्याकमा एकै पटक चार वटा सुविधा लिन सकिन्छ । यसबाट एकै पटक उच्च गतिको इन्टरनेटका साथै टेलिभिजन चलाउन, टेलिफोन सेवा प्रयोग गर्न र मोबाइल डेटा समेत चलाउन सकिन्छ ।

एउटै तारबाट आवश्यकता अनुसार चार ओटा सुविधा चलाउन सकिने भएकाले नेपाल टेलिकमले यसलाई थ्री प्लस वान  अर्थात् ‘अब एउटैमा तीन प्लस १’ सेवा नामाकरण गरेको छ ।

हाल स्प्रिङ अफर अन्तर्गत इन्टरनेट सुविधा मात्र उपलब्ध भएको एफटीटीएच प्याकेज वार्षिक आठ हजार रुपैयाँमा उपलब्ध  छ ।

त्यसैगरी एनटीटीभी सहितको प्याकेज लिने ग्राहकलाई वार्षिक १२ हजार रुपैयाँमा २० एमबीपीएसको इन्टरनेट, ३,००० मिनेट कुराकानी गर्न सकिने भ्वाइस सेवा र एनटीटीभी सेवा उपलब्ध गराइएको छ ।

पछिल्लो अध्यावधिक: जेठ १३, २०८० १०:१३