close

उडिरहेको जहाजमा यात्रुले आपतकालीन ढोका खोलेपछि...

टेकपाना टेकपाना

जेठ १३, २०८० १२:५९

उडिरहेको जहाजमा यात्रुले आपतकालीन ढोका खोलेपछि...

काठमाडौं । दक्षिण कोरियामा उडिरहेको जहाजमा एक यात्रुले आपतकालीन ढोका खोलेपछि विमानमा सवार १२ जना यात्रु घाइते भएका छन् । शुक्रबार उडिरहेको विमानमा यात्रुले आपतकालीन निकास (एक्जिट) ढोका खोलेका थिए, जसको कारण जहाजभित्र हावा पसेर १२ जना घाइते भएका थिए । यद्यपि जहाजका चालकदलले विमान सकुशल अवतरण गरेका थिए ।

एसियाना एयरलाइन्सको एयरबस ए३२१ विमानमा सवार एक व्यक्तिले उक्त आपतकालीन ढोका आंशिक रुपमा खाेलेका थिए । जहाजमा सवार अन्य यात्रुले रोक्दा ढोका पूर्ण रुपमा खुल्न पाएन । यसले गर्दा सम्भावित घटना टरेको थियो । ती व्यक्तिलाई हवाई सुरक्षा कानून उल्लंघन गरेको आराेपमा विमानस्थल प्रहरीले नियन्त्रणमा लिएको छ ।

उक्त व्यक्तिको पहिचान भने खुलाइएको छैन । 

कानूनत: यात्रुहरूले आपतकालीन ढोका चलाउन तथा हवाइजहाजमा चढिसकेपछि कुनै पनि प्रकारको उपकरण प्रयोग गर्न पाउँदैनन् । यस्तो अवस्थामा कोरियाकाे कानून अनुसार दोषी यात्रुलाई १० वर्षसम्म जेल सजाय हुने नीति छ । 

१९४ जना यात्रु बोकेको उक्त विमान दक्षिणी टापु जेजुबाट दक्षिणपूर्वी सहर डेगुतर्फ गइरहेको थियो । उडान सामान्यत: करिब एक घण्टाको हुन्छ । विमान ७०० फिट को उचाइमा डेगु एयरपोर्ट पुग्नै लाग्दा यो घटना भएको थियो । 

सोसल मिडियामा पोष्ट गरिएको बोर्डमा एक व्यक्तिले खिचेको भिडिओमा खुला ढोकाबाट जहाजभित्र आएको हावा देख्न सकिन्छ ।

पछिल्लो अध्यावधिक: जेठ १३, २०८० १३:१३