काठमाडौं । फेसबुक मेसेन्जरमा जस्तै ह्वाट्सएपमा पनि मेटाले स्क्रिन शेयर गर्न मिल्ने फिचर उपलब्ध गराउने भएको छ ।
शनिबार डब्लुए बेटा इन्फोमा एक ब्लग राख्दै कम्पनीले नयाँ अपडेट मार्फत स्क्रिन शेयर फिचर उपलब्ध गराउने जानकारी दिएको हो ।
उक्त रिपोर्टमा कम्पनीले हाल एन्ड्रोइड डिभाइसमा स्क्रिन शेयर गर्ने फिचर परीक्षण गरिरहेको उल्लेख गरेको छ । विशेषगरी भिडिओ कन्फ्रेन्सिङ प्लेटफर्म माइक्रोसफ्ट र जुममा जसरी स्क्रिन शेयर गर्न मिल्छ, त्यसरी नै ह्वाट्सएपमा पनि डिभाइसको स्क्रिन शेयर गर्न सकिने कम्पनीले जनाएको छ ।
ह्वास्टएपमा स्क्रिन शेयर गर्नका लागि सबैभन्दा पहिले ह्वाट्सएपको २.२३.११.१९ भर्सन अपडेट गर्नुपर्ने हुन्छ । अपडेटपछि स्क्रिन शेयर गर्न चाहेको मान्छेलाई कल गरी तलपट्टि रहेको स्क्रिन शेयरको आइकनमा ट्याप गरी डिभाइसको स्क्रिन शेयर गर्न सकिनेछ ।
उक्त फिचर इनबेल गरेर स्क्रिन शेयर गर्दा ह्वाट्सएपले डिस्प्लेमा देखिने पासवर्ड, मेसेज, फोन नम्बर लगायतका सबै व्यक्तिगत विवरणहरू देखिन्छन् भन्दै डिस्क्लेमर पठाउनेछ ।
तर यो फिचर प्रयोग गर्नका लागि दुवै पक्षले ह्वाट्सएपको नयाँ अपडेट इन्स्टल गरेको हुनुपर्छ । हाल बेटा भर्सनमा परीक्षण भइरहेकाले यो फिचर केही हप्तामा सबै एन्ड्रोइड, आईओएस र वेब प्रयोगकर्ताले प्रयोग गर्न सक्ने कम्पनीले बताएको छ ।