close

आविष्कार कोष खडा गर्न सरकारले छुट्यायो १ अर्ब

टेकपाना टेकपाना

जेठ १५, २०८० १७:४४

आविष्कार कोष खडा गर्न सरकारले छुट्यायो १ अर्ब

काठमाडाैं । सरकारले देशमा आविष्कार कोष खडा गर्न एक अर्ब रुपैयाँ बजेट छुट्ट्याएको छ । सोमबार संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले अनुसन्धान, नवप्रवर्तन र आविष्कारलाई प्रोत्साहन गर्न उक्त रकम विनियोजन गरेको जानकारी दिएका हुन् ।  

सरकारको कुल पुँजीगत बजेटको न्यूनतम एक प्रतिशत रकम अनुसन्धान, नवप्रवर्तन र आविष्कारमा खर्च गर्ने गरी नीति बनाइने बताउँदै उनले यसका लागि छुट्टै कोष सञ्चालन गर्न एक अर्ब विनियोजन गरेको बताए ।

“कोष सञ्चालन गर्न आवश्यक कानुन तर्जुमा गरिनेछ । सरकारका विभिन्न निकायबाट हुने अनुसन्धान, नवप्रवर्तन र आविष्कारका गतिविधिलाई यसमा आवद्ध गर्दै लगिनेछ,” उनले भने ।

प्रदेश र स्थानीय तहलाई पनि यस कोषमा रकम जम्मा गर्न प्रोत्साहित गरिने उनले बताए ।

अनुसन्धान, नवप्रवर्तन र आविष्कार सम्बन्धी कार्यमा समन्वय एवम् सहजीकरण गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको मातहतमा छुट्टै इकाइ स्थापना गरिने उनले जानकारी दिए ।

पछिल्लो अध्यावधिक: जेठ १५, २०८० १७:४४