close

एसएमएस र आरसीएसमा के भिन्नता छ ?

टेकपाना टेकपाना

जेठ १९, २०८० १२:३०

एसएमएस र आरसीएसमा के भिन्नता छ ?

काठमाडौं । आफूलाई आएका मेसेज रिप्लाई गर्न होस् वा कसैलाई मेसेज पठाउन होस् हामीले फोनमा रहेको मेसेज बक्स प्रयोग गरिरहेका हुन्छौं । प्रायः सबै फोनमा एसएमएस (शर्ट मेसेज सर्भिस) को सुविधा हुन्छ । 

तर, पछिल्लो समय बजारमा आएका केही स्मार्टफोनमा आरसीएस (रिच कम्युनिकेसन सर्भिस) का माध्यमबाट पनि मेसेज पठाउने सुविधा रहेको छ । 

त्यसोभए के हो एसएमएस भनेको र आरसीएस भनेको के हो ? यिनीहरूबीच के भिन्नता छ ? आज हामी यिनै विषयमा चर्चा गर्दैछौँ । 

एसएमएस भनेको के हो ?

एमएसएस शर्ट मेसेज सर्भिसको छोटो रूप हो । यसलाई नेपालीमा अनुवाद गर्दा छोटो सन्देश सेवा भन्ने अर्थ लाग्छ । नाममै जाने हो भने यो त्यस्तो माध्यम वा प्रोटोकल हो जसलाई छोटा मेसेज पठाउन वा पाउन प्रयोग गरिन्छ । यस्तोमा मोबाइलमा प्रयोग भएको सिमका माध्यमबाट मेसेज आदान प्रदान हुन्छ । र, सिममै भएको ब्यालेन्स वा एसएमएस प्याकेज खपत हुन्छ । यसका लागि डेटा प्लान (एमबी) लिएको हुनुपर्दैन । तर, सिममा टावर (नेटवर्क) भने हुनुपर्छ । 

फोनमा नेटवर्क नआउने ठाउँ छ भने मेसेज नजान पनि सक्छ । तर, प्रायः सबै अवस्थामा छोटा मेसेज पठाउन भने सकिन्छ । मेसेज पठाउन पैसा लाग्छ भने पाउनका लागि कुनै किसिमको शुल्क तिर्नु पर्दैन । 

मोबाइल फोनको विकास हुँदै गर्दा भ्वाइस कलको विकल्पमा एसएमएस सेवा सुरु भएको थियो । अहिले इन्टरनेटका माध्यमबाट मेसेज पठाउन सकिने थुप्रै प्लेटफर्म तथा सामाजिक सञ्जाल आइसकेपछि एसएमएस सेवा पुरानो भएको अनुभव हुन्छ । 

एसएमएसका माध्यमबाट शब्दमा आधारित मेसेज मात्र पठाउन सकिन्छ । त्यसमा पनि शब्दहरू १६० क्यारेक्टरभन्दा बढी हुनुहुँदैन । (उदाहरणका लागि टेकपाना शब्दमा सात क्यारेक्टर छन् ।) पूर्णविराम, प्रश्न चिन्ह, थोप्लो वा कुनै पनि सङ्केत राखेमा त्यो क्यारेक्टरमै गनिन्छ । 

एक पटक एसएमएसबाट मेसेज पठाउँदा मेसेजको आकार १६० क्यारेक्टरभन्दा बढाउन सकिँदैन । तर, केही फोनको क्षमता अनुसार एमएसएसमा शब्दको सीमितता बढी पनि हुन सक्छ । तर, कुनै लामो अनुच्छेद नै पठाउँछु भन्ने सुविधा चाहिँ हुँदैन ।

यसरी सीमित शब्दमा मात्र मेसेज पठाउँन मिल्ने हुँदा मानिसहरूलाई समस्या भइरहेको थियो । विशेषगरी लामो शब्दहरू पठाउँदा धेरै पटक छुट्टाछुट्टै मेसेज पठाउनु पर्ने हुन्थ्यो । जसले गर्दा सिममा भएको ब्यालेन्स पनि बढी खपत हुन्थ्यो । 

यसो त यो समस्या आधुनिक स्मार्टफोनहरूमा कमै हुन्छ । तर सामान्य बार फोनमा यो निकै ठूलो समस्या हो । एसएमएसका माध्यमबाट मिडिया पठाउँछु भन्ने सम्भव छैन । तसर्थ एसएमएसमार्फत फोटो, भिडिओ, अडियो वा गिफ फाइल पठाउने कुरा सोच्न पनि सकिँदैन ।

सुरुवाती समयमा मानिसहरूका आवश्यकता त्यति धेरै नभएकाले एसएमएस सेवा काम चलेकै थियो । तर, अहिलेको समयमा यो एसएमएसको निकै ठूलो बेफाइदाका रूपमा देखियो । त्यसैले सटीक र छोटा टेक्स्ट पठाउनका लागि मात्र एसएमएस प्रयोग गर्न थालियो । 

के हो आरसीएस ?

यहाँ एमएमएसले आधुनिक इन्स्यान्ट मेसेजिङ एपसँग प्रतिस्पर्धा गर्न सकेन भन्ने होइन । अहिले हामी त्यस्तो अवस्थामा आइसकेका छौं जहाँ हामीलाई एसएमएसका विशेषता कम लाग्न थालेका छन् ।

आरसीएस अर्थात रिच कम्युनिकेसन सर्भिस एसएमएस तथा एमएमएस (मल्टिमिडिया मेसेजिङ सर्भिस) को आधुनिक तथा परिष्कृत स्वरूप हो । जसका माध्यमबाट मिडिया फाइल, टेक्स्ट वा अन्य फर्म्याटका फाइल पठाउन सकिन्छ । 

आरसीएस परम्परागत एसएमएस प्रणालीभन्दा धेरै नै भिन्न छ । यसमा शब्दको सीमितता पनि एसएमएसभन्दा धेरै छ । आरसीएसका माध्यमबाट फोटो, भिडिओ, गिफ जस्ता फाइलहरू पठाउन सकिन्छ । त्यति मात्र नभइ आफू भएको लोकेसन वा ग्रुप च्याट खोल्न पनि आरसीएसको प्रयोग गरिन्छ । साथै मेसेज पठाएको, पठाएको व्यक्तिले मेसेज पाएको वा उसले हेरेको सबै जानकारी आरसीएस प्रोटोकलमा उपलब्ध हुन्छ । 

आरसीएस प्रोटोकलले टेलिफोनी नेटवर्कबाट नभइ इन्टरनेटको डेटा प्रयोग गर्ने भएकाले यी विशेषताहरू उपलब्ध भएका हुन् । 

जहाँ एसएमएस सबै डिभाइसमा उपलब्ध भएको फिचर हो भने आरसीएस आधुनिक स्मार्टफोनमा मात्र उपलब्ध भएको फिचर हो । यसो त आरसीएस फिचर प्रयोग गर्नका लागि इन्स्ट्यान्ट मेसेजिङ एप (मेसेन्जर, ह्वास्टएस, भाइबर) जस्तो साइनअप गरिरहन पर्दैन ।

आरसीएस प्रोटोकलको प्रयोग गर्नका लागि उक्त फिचर सपोर्ट गर्ने फोन भने चाहिन्छ । यदि फोन इन्टरनेटमा जोडिएको छैन भने पनि आरसीएस फिचर नाममा मात्र सीमित हुन्छ । तपाईंले पठाएका मेसेज एसएमएसका रूपमा जान्छ ।

हरेक क्षेत्रमा एसएमएसभन्दा आरसीएस नै उपयोगी हुन्छ । तर, आरसीएस सबै फोनमा उपलब्ध नहुन सक्छ । त्यस्तै इन्टरनेट नभएको अवस्थामा आरसीएस प्रोटोकल प्रयोग गरी मेसेज पठाउन मिल्दैन । यता आरसीएस भने सामान्य बारफोनदेखि, एन्ड्रोइड तथा आईफोन सबै किसिमका फोनहरूमा चल्छ । 

आईफोनले पनि सबै अवस्थामा आरसीएस सपोर्ट गर्छ भन्ने हुँदैन । यदि आईफोनबाट आईफोनमै मेसेज पठाउन खोजियो भने त्यस्तो अवस्थामा मात्र आईफोनको आरसीएस प्रोटोकल काम लाग्छ । आईफोनबाट एन्ड्रोइड वा बारफोनमा आरसीएस मेसेज पठाउन सकिँदैन । 

एसएमएस नभइ आरसीएस प्रयोग गर्नुका फाइदा के ? 

यसो त माथि नै आरसीएस मेसेज प्रोटोकलका फाइदाबारे माथि नै उल्लेख गरिएको छ । त्यसमा पनि सबैभन्दा राम्रो विशेषता भनेको आरसीएसले इन्स्ट्यान्ट मेसेजिङ जस्तो अनुभव दिन्छ । साइनअप गर्नुपर्ने झन्झट नहुनु यसको अर्को विशेषता हो । 

तीबाहेक पनि फोटो, भिडिओ जस्ता फाइलका साथै लोकेसन शेयर गर्न मिल्नु यसको अर्को सकारात्मक पक्ष हो । 

मेसेजमार्फत मार्केटिङ गर्नेहरूका लागि पहिले एमएमएस रोजाइमा पर्थ्यो भने अहिले आरसीएस रोजाइमा परिरहेको छ । आकर्षक पोस्टरलाई आरसीएसमार्फत पठाउँदा त्यसले लक्षित अडियन्सलाई राम्रो प्रभाव पार्छ । 

त्यस्तै इन्ड-टु-इन्ड इन्क्रिप्सन मेसेज सुविधा हुनु आरसीएस प्रोटोकलको अर्को फाइदा हो । तर, सबै फोनमा यो सुविधा नहुन सक्छ । अधिकांश मिड-रेञ्ज तथा प्रिमियम फोनमा यो सुविधा रहेको छ । 

आरसीएस प्रयोग गर्नका लागि डेटा आवश्यक पर्ने भए पनि यो प्रयोगकर्ताका लागि निःशुल्क उपलब्ध छ । एसएमएस प्रयोग गर्नका लागि सिममा भएको ब्यालेन्स खपत हुन्छ । तुलनात्मक रूपमा एसएमएस बढी खर्चिलो छ । 

कसले आरसीएस प्रयोग गर्न पाउँछन् ?

सबैभन्दा पहिले त तपाईंले प्रयोग गर्ने मोबाइल सेवा प्रदायकले आरसीएस फिचर सपोर्ट गरेको हुनुपर्छ । त्यस्तै तपाईंले प्रयोग गरिरहेको स्मार्टफोनमा पनि आरसीएस सपोर्ट गर्ने हुनुपर्छ । नेपालका दुई प्रमुख मोबाइल सेवा प्रदायक नेपाल टेलिकम र एनसेल आजियाटाले आरसीएस प्रोटोकल सपोर्ट गर्छन् । 

सबै खाले स्मार्टफोनमा यो फिचर उपलब्ध नहुन सक्छ । तर, नेपालमा बढी प्रयोगमा आएका आईफोन, साओमी, सामसङ, ओप्पो, भिभो, रियलमी, रेड्मी जस्ता मोडेलका मिड-रेञ्ज तथा प्रिमियम फोनमा यो फिचर उपलब्ध हुन्छ । 

कतिपय एन्ड्रोइड फोनमा उपलब्ध हुने डिफल्ट मेसेजिङ एपमा यो सुविधा उपलब्ध हुन्छ । तर, यदि तपाईंको डिभाइसमा उक्त मेसेजिङ एप छैन भने यहाँ क्लिक गरी डाउनलोड गर्न सक्नुहुन्छ ।

आईफोनमा भने आईमेसेज एपमा यो सुविधा उपलब्ध हुन्छ । यदि आईफोन प्रयोगकर्ताले एन्ड्रोइड प्रयोगकर्तालाई आरसीएस मार्फत मेसेज पठाउँछु भन्ने खोज्यो त्यो हालसम्म सम्भव छैन । यस्तो अवस्थामा एसएमएस नै जान्छ । 

 

पछिल्लो अध्यावधिक: जेठ १९, २०८० १२:३०