काठमाडौं । स्मार्टफोन बजारमा सबैभन्दा बढी प्रयोग हुने अपरेटिङ सिस्टम हुन् गुगलको एन्ड्रोइड र एप्पलको आईओएस । गुगलको एन्ड्रोइड १३ र एप्पलको आईओएस १६ दुवै नयाँ भर्सन हुन् ।
स्वाभाविक रूपमा मोबाइल प्रयोगकर्ताले नयाँ ओएस अपडेट नै प्रयोग गर्ने गर्छन् । यद्यपि आईओएसको तुलनामा एन्ड्रोइडको अपडेट भने यो वर्ष कम भएको पाइएको छ ।
हालै दुवै कम्पनीले सार्वजनिक गरेको रिपोर्टअनुसार आईओएस १६ को तुलनामा एन्ड्रोइड १३ अपडेट गर्ने प्रयोगकर्ता कम रहेको देखाएको छ । एप्पलका अनुसार सञ्चालनमा रहेका कुल आईफोनमध्ये ८१ प्रतिशत आईफोनमा आईओएस १६ अपडेट प्रयोग भइरहेको छ ।
विश्वभर एप्पल डिभाइसका एक अर्ब ८० करोडभन्दा बढी प्रयोगकर्ता छन् । यसको अर्थ विश्वभर एक अर्ब ४५ करोड ८० लाख डिभाइसमा आईओएस १६ को अपडेट छ ।
त्यस्तै गुगलका अनुसार एन्ड्रोइड १३ अपडेट गर्ने प्रयोगकर्ता भने करिब १५ प्रतिशत मात्र रहेका छन् । जुन महिनासम्ममा एन्ड्रोइड १३ को अपडेट १४.७ प्रतिशत मात्र देखिएको छ । जब कि एन्ड्रोइड ११ को अपडेट भने २३.१ प्रतिशत प्रयोगकर्ताले गरेको देख्न सकिन्छ ।