close

च्याटजीपीटी एपको पर्खाइमा हुनुहुन्छ ? यी कुरामा छ वेबसाइटभन्दा भिन्न

टेकपाना टेकपाना

जेठ २१, २०८० १७:२८

च्याटजीपीटी एपको पर्खाइमा हुनुहुन्छ ? यी कुरामा छ वेबसाइटभन्दा भिन्न

काठमाडौं । ओपनएआईले नोभेम्बर २०२२ का दिन सबैले प्रयोग गर्न मिल्ने गरी च्याटजीपीटी सार्वजनिक गरेको थियो । त्यसपछि संसारभर आर्टिफिसियल इन्टेलिजेन्स (एआई) का सम्भावनाबारे धेरै नै खोजी हुन थाल्यो । 

प्रयोगकर्तालाई सहजै च्याटजीपीटी प्रयोग गर्न सघाउने उद्देश्यका साथ कम्पनीले त्यसपछि च्याटजीपीटीको मोबाइल एप सार्वजनिक गर्‍यो । त्यसो त च्याटजीपीटीको एप केही सीमित देशमा मात्र उपलब्ध छ । 

त्यो पनि आईओएस प्रयोगकर्ताका लागि मात्र । कम्पनीले यो एप छिट्टै संसारभरका एन्ड्रोइड प्रयोगकर्ताका लागि उपलब्ध हुने जानकारी गराइसकेको छ । आज हामी तपाईंलाई च्याटजीपीटीको वेबसाइटभन्दा एप केकस्ता कारणले उत्कृष्ट छ भन्ने विषयमा जानकारी दिँदैछौं ।

१) भ्वाइस इनपुट

भ्वाइस इनपुट सम्भवतः च्याटजीपीटी सुरु भएदेखि नै सबैले खोजिरहेको फिचर हो । प्रयोगकर्ताले टाइप गरेरभन्दा सोझै बोलेकै भरमा आफ्ना जिज्ञासा मेटाउन सकियोस् भन्ने चाहेका थिए । त्यसैलाई मध्यनजर गर्दै कम्पनीले एपमा भ्वाइस इनपुटको सुविधा उपलब्ध गराएको छ । कम्पनीले आफ्नो ‘ओपन-सोर्स स्पिच रिकग्निजेसन’ प्रणाली प्रयोग गरी एपमा भ्वाइस इन्पुट सिस्टम उपलब्ध गराएको हो । जसलाई कम्पनीले ‘विस्पर (whishper) नाम दिएको छ ।

त्यसो त च्याटजीपीटीको वेबसाइटमा पनि विभिन्न क्रोम एक्स्टेन्सन प्रयोग गरी भ्वाइस इनपुट फिचर प्रयोग गर्न सकिन्छ । तर, यसरी प्रयोग गर्दा यो फिचर त्यति व्यवहारिक भने लाग्दैन । यो मामिलामा च्याटजीपीटीको एप वेबसाइटभन्दा उत्कृष्ट छ । 

जसको माध्यमबाट च्याटबटसँग वास्तविक कुराकानी गरेजस्तो गरेर आफ्ना प्रश्नको जवाफ पाउन सकिन्छ । भ्वाइस इनपुटको सुविधा उपलब्ध भइसकेपछि स्पेलिङ बिग्रिने समस्या पनि कम हुन्छ । 

एपमा भ्वाइस इन्पुट प्रयोग गर्नका लागि च्याटबक्समा भएको माइकको अप्सनमा ट्याप गर्नुपर्ने हुन्छ । त्यसपछि तपाईंले बोलेका शब्दहरू टाइप हुन्छन् । त्यसपछि छेउमा रहेको सेन्डको आइकन ट्याप गरेर च्याटजीपीटीलाई प्रश्न पठाउन सकिन्छ ।

 

२) राम्रो युजर इन्टरफेस र एक्सेसिबिलिटी

च्याटजीपीटीको वेबसाइट प्रयोग गर्दा हरेक पटक एउटै प्रक्रिया दोहोर्‍याइरहनु पर्ने हुन्छ । यसमा सबैभन्दा पहिला ब्राउजरमा गएर, लिङ्क राखेर लगइन गरेपछि मात्र च्याटजीपीटी प्रयोग गर्न सकिन्छ ।  तर, च्याटजीपीटीको आईओएस एपमा भने त्यस्तो समस्या छैन । सोझै एपमा गएर आफ्ना प्रश्नहरू राख्न सकिन्छ । यसर्थ एप वेबसाइटको तुलनामा प्रयोग गर्न सजिलो पनि छ । 

वेबसाइटभन्दा एपको युजर इन्टरफेस केही आकर्षक छ । जसले कुनै व्यक्तिसँग कुरा गरिरहेको अनुभूति दिन्छ । एपको आइकनमा ट्याप गर्ने बित्तिकै खुल्ने पहिलो पेजमा च्याटबटको आइकन देखिन्छ । ब्राउजरमा जस्तो एपमा झन्झट हुँदैन । सबै फिचरहरू त्यही मेनु अप्सनबाटै हेर्न सकिन्छ । 

साधारण डिजाइन भएकाले पनि हरेक वर्गका मानिसहरूले सहजै एप प्रयोग गरिरहेको उल्लेख छ । 

३) स्पिचका लागि आफूलाई उपयुक्त भाषा छान्ने सुविधा

भ्वाइस इन्पुट एआई प्रतिस्पर्धाका लागि उपयुक्त हुने फिचर चाहिँ होइन । त्यसैले यसलाई कम्पनीले थप परिमार्जन गरेको छ ।  तपाईंले च्याटजीपीटीसँग अन्तरक्रिया गर्नका लागि मात्र नभई आफूलाई उपयुक्त हुने भाषा समेत छान्न सक्नुहुन्छ । भ्वाइस इनपुटका लागि च्याटजीपीटीको आईओएस एपमा ३५ ओटा भाषाहरू समावेश गरिएका छन् । यदि उक्त सूचीमा तपाईंले प्रयोग गर्ने भाषा छैन भने उक्त भाषा छिट्टै उपलब्ध गराउने कम्पनीको प्रतिवद्धता छ । 

४) ह्याप्टिक फिडब्याक

ह्याप्टिक फिडब्याक यस्तो फिचर हो, जसले टचको प्रयोग गरी प्रयोगकर्तासँग अन्तरक्रिया गरिरहेको हुन्छ । एपले भाइब्रेसनका विभिन्न प्याटर्न प्रयोग गरी  प्रयोगकर्तालाई टचमा आधारित प्रतिक्रिया जनाउँछ । यो फिचर प्रायः गेमहरूमा उपलब्ध हुन्छ ।

आईफोन प्रयोगकर्ताका लागि यो फिचरले अन्तरक्रिया गर्न थप सहज बनाएको छ । महत्त्वपूर्ण नोटिफिकेसन तथा अलर्टलाई ह्याप्टिक फिडब्याक फिचरमार्फत व्यवस्थापन गर्न सकिन्छ । तर, हरेक पटक भाइब्रेसन भइरहँदा प्रयोगकर्तालाई त्यति उपयुक्त नहोला । यदि तपाईंलाई उपयुक्त लागेन भने यो फिचर अफ गर्न पनि सक्नुहुन्छ । 

यो एक्सेसिबिलिटी फिचर आँखा कम देख्ने वा कम सुन्ने व्यक्तिहरूका लागि उपयुक्त हुने बताइएको छ । त्यस्तै यो फिचरले भरपर्दो प्रोम्प्ट उपलब्ध गराएर प्रयोगकर्तालाई केही सहज बनाएको छ । 

५) अफलाइन हुँदा पनि च्याट हिस्ट्रीमा पहुँच

च्याटजीपीटीलाई वेबसाइट वा एपमार्फत प्रयोग गर्नका लागि इन्टरनेट अनिवार्य हुन्छ । तर, ब्राउजरमा च्याट हिस्ट्री हेर्नका लागि पनि इन्टरनेटमा जोडिएको हुनुपर्छ । च्याटजीपीटीको आईओएस एपले प्रयोगकर्तालाई अफलाइन हुँदा पनि च्याट हिस्ट्री हेर्न सकिने विशेषता उपलब्ध गराएको छ ।

 

६) छिटो रेस्पोन्स दिने 

च्याटजीपीटीलाई वेबसाइटमार्फत प्रयोग गर्दा त्यसले ढिलो जवाफ दिइरहेको हुन्छ । कतिपय अवस्थामा त ट्राफिक बढी भएर हाम्रा प्रश्नको जवाफ पनि आउँदैन । तर, तुलनात्मक रूपमा एप प्रयोगकर्तालाई कम्पनीले विशेष प्राथमिकता दिएको छ । प्रयोगकर्ताले वेबसाइट प्रयोग गरेरभन्दा एपमार्फत छिटो जवाफ पाउन सक्छन् । त्यस्तै च्याटजीपीटीको प्लस सब्स्क्रिप्सन लिने प्रयोगकर्तालाई पनि ओपन एआईले थप प्राथमिकता दिएको छ । 

हालसम्म सबै देशमा यो एप उपलब्ध नभइसकेकाले यसले कस्तो प्रतिक्रिया पाएको छ भन्ने कुरा उल्लेख गर्न सकिएको छैन । प्रयोग गर्नेहरूले च्याटजीपीटीको एप थप अत्याधुनिक र प्रयोग गर्न सहज भएको जनाएका छन् । नेपाल लगायत अन्य विभिन्न देशमा च्याटजीपीटी एप कहिले सार्वजनिक हुन्छ भन्नेबारे कम्पनीले हालसम्म केही खुलाएको छैन । यद्यपि सबै क्षेत्रमा आईओएस एप उपलब्ध भइसकेपछि कम्पनीले एन्ड्रोइड एप ल्याउने अपेक्षा गरिएको छ । 

पछिल्लो अध्यावधिक: जेठ २१, २०८० १७:४०