close

सेक्सलाई खेलको मान्यता दिइएको भन्ने इन्टरनेटमा भाइरल समाचार झुटो !

टेकपाना टेकपाना

जेठ २२, २०८० १४:४८

सेक्सलाई खेलको मान्यता दिइएको भन्ने इन्टरनेटमा भाइरल समाचार झुटो !

काठमाडौं । केही दिनयता सामाजिक सञ्जाल र अनलाइन सञ्चारमाध्यममा ‘स्विडेनमा सेक्सलाई खेलको मान्यता’ दिइएकाे भन्दै  राखिएका समाचार भाइरल छन् । फेसबुक, ट्वीटर, टिकटक लगायतका सामाजिक सञ्जाल प्रयोगकर्ताले उक्त समाचारलाई आफ्नै तरिकाले विश्लेषण गरेका छन् ।

त्यस्तै केही मिम पेजहरूबाट यो खबरलाई ट्रोल गरिएको छ । तर, विभिन्न चर्चित अनलाइन पोर्टलहरूले राखेको यो समाचार भने भ्रामक भएको पाइएको छ ।

विश्वमै पहिलो पटक यस्तो प्रतिस्पर्धा हुन लागेको भनेर राखिएको समाचारलाई नाम चलेका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले प्रकाशन गरेका छैनन् । यसबाट पनि यो समाचार भ्रामक भएको आशंका गर्न सकिन्छ ।

नेपाल तथ्यजाँचले पनि विभिन्न आधारलाई औंल्याएर यो समाचार भ्रामक भएको पुष्टि गरेको छ । अधिकांश भारतीय सञ्चारमाध्यमले उक्त समाचारलाई कुनै पनि आधिकारिक वा विश्वसनीय स्रोत नराखी समाचार प्रकाशन गरेका छन् ।

यो प्रतिस्पर्धा स्विडेन हुन लागेको भनिएको छ । तर, सो देशका स्थानीय सञ्चारमाध्यमले पनि यसबारे कुनै समाचार राखेका छैनन् ।

यसो त गत जनवरीमा ड्रागन ब्राटिक नामका व्यक्तिले सेक्सलाई खेलको रूपमा वर्गीकरण गर्न त्यहाँको राष्ट्रिय खेल महासंघमा निवेदन दिएका थिए । जसका लागि उनले स्विडिश सेक्स फेडेरेसन नामको संस्था समेत दर्ता गरेका थिए ।

तर, महासंघका अध्यक्ष ब्योर्न एरिक्सन (Björn Eriksson) ले त्यसलाई ननसेन्स भन्दै आफूहरूको तर्फबाट सर्वसम्मत रूपमा त्यस (निवेदन) लाई अस्वीकार गरिने बताएका थिए । सो समाचार स्थानीय टिभी फोर च्यानलको अनलाइन संस्करणमा उल्लेख छ ।

त्यस्तै सेक्सलाई खेलको मान्यता दिनुपर्ने भन्दै आएको आवदेनबारे स्थानीय गोटेनबर्ग पोस्टेनले समेत आर्टिकल राखेको थियो । आवेदन आएलगत्तै सो आवेदन सर्वसम्मत रूपमा अस्वीकार भएको थियो ।

महासंघले एक विज्ञप्ति जारी गर्दै उक्त आवेदन अस्वीकार गरेको घोषणा गरेको थियो । त्यसैले राष्ट्रिय खेलकुद महासंघमा सेक्सलाई खेलको मान्यता दिनका लागि आवेदन आए पनि उक्त आवेदन अस्वीकार भएको देखिएको छ ।

पछिल्लो अध्यावधिक: जेठ २२, २०८० १४:५८