close

एम टु अल्ट्रा चिपसेट सहित एप्पलले ल्यायो म्याक प्रो, मूल्य ९ लाख बढी

टेकपाना टेकपाना

जेठ २३, २०८० १६:४०

एम टु अल्ट्रा चिपसेट सहित एप्पलले ल्यायो म्याक प्रो, मूल्य ९ लाख बढी

काठमाडौं । एप्पलले नयाँ म्याक प्रो सार्वजनिक गरेको छ । वर्ल्ड वाइड डेभलपर कन्फ्रेन्स (डब्लूडब्लूडीसी) २०२३ को अवसरमा सोमबार एम टु अल्ट्रा (M2 Ultra) चिप भएको म्याक प्रो सार्वजनिक गरिएकाे हो ।

डिजाइन हेर्ने हो भने २०१९ मा सार्वजनिक भएको म्याक प्रोभन्दा नयाँ म्याक प्रो त्यति भिन्न छैन । त्यसैले विश्लेषकहरूले यसलाई अपडेटेड म्याक प्रो भनेका छन् ।

६,९९९ अमेरिकी डलर (करिब नौ लाख २० हजार ) मूल्य तोकिएको यो मोडेल १३ जुनदेखि बिक्री गर्ने कम्पनीले जानकारी दिएकाे छ । डिभाइसमा आठ ओटा बिल्ट-इन थन्डरबोल्ट फोर पोर्टहरू रहेका छन् ।

यसमा २४ सीपीयू कोर, ७६ जीपीयू कोर, ३२ कोर न्युरल इन्जिन र १९२ जीबी मेमोरी समावेश छ ।

कम्पनीले यो डिभाइस पुरानो इन्टेल भर्सनभन्दा तीन गुणा फास्ट हुने दाबी गरेको छ । कम्पनीले नयाँ म्याक स्टुडियो र नयाँ म्याक प्रोमा मात्र एम टु अल्ट्रा चिप उपलब्ध गराएको बताएको छ ।

म्याक स्टुडियो जस्तै म्याक प्रोले पनि छ ओटा प्रो डिस्प्ले एक्सडीआर सपोर्ट गर्ने उल्लेख छ । त्यस्तै यसले वाई-फाई सिक्स-ई, ब्लुटुथ ५.३ सपोर्ट गर्ने बताइएको छ ।

यसमा तीन ओटा यूएसबी ए पोर्ट, दुई ओटा उच्च ब्यान्डविथकका एचडीएमआई पोर्ट र दुई ओटा इथरनेट पोर्ट रहेका छन् । कम्पनीले यसअघि ल्याएको एम टु म्याक्स डाइज (M2 Max Dies) चिप एप्पलको अल्ट्रा फ्युजन टेक्नोलोजीमा जोडिएको थियो । उक्त चिपसेटमा २४-कोर सीपीयू, ७६-कोर जीपीयू रहेको थियो ।

कम्पनीका अनुसार सो चिपसेट एम वान अल्ट्राभन्दा ३० प्रतिशत फास्ट थियो । कम्पनीले सार्वजनिक गरेको नयाँ चिपसेट भने दुई ओटा एम टु म्याक्स डाइज बराबर भएको बताइएको छ । फाइभ एनएम प्रविधि प्रयोग गरी निर्माण गरिएको यस चिपमा एक खर्ब ३२ अर्ब ट्रान्जिस्टर समावेश गरिएको छ ।

पछिल्लो अध्यावधिक: जेठ २३, २०८० १६:४०