close

काठमाडौंमा ह्याकर सम्मेलन हुँदै

टेकपाना टेकपाना

जेठ २३, २०८० १८:१४

काठमाडौंमा ह्याकर सम्मेलन हुँदै

काठमाडौं । ह्याकरहरूको सम्मेलन ‘थ्रेटकन’ आउँदो भदौमा हुने निश्चित भएको छ । नेपालको साइबर सुरक्षा फर्म तथा सम्मेलनको आयोजक थ्रेटनिक्सले काठमाडाैंमा २७ भदौमा पाँचौं संस्करणको थ्रेटनिक्स सम्मेलन गर्न लागेकाे हाे ।

सम्मेलनमा विज्ञ, ह्याकर तथा अनुसन्धानकर्मी, सरकारी क्षेत्र, उद्योग क्षेत्र लगायत सबै सरोकारवालाहरूको सहभागिता रहने थ्रेटनिक्सका सेक्युरिटी इन्जिनियर सुयाश नेपालले जानकारी दिए । 

यसका लागि रिसर्च पेपर पेश गर्न ‘कल फर पेपर’ घोषणा गरिएको छ ।

“सम्मेलनमा केही सीमित अनुसन्धानकर्ता तथा ह्याकरले आफ्नो रिसर्च पेपर प्रस्तुत गर्न पाउँछन्,” नेपालले भने, “आफ्नो रिसर्च पेपर प्रस्तुत गर्न इच्छुक सहभागीले पहिले आफ्नो पेपर पेश गरेर छनाेट हुनुपर्छ ।”

इच्छुक ह्याकर तथा अनुसन्धानकर्मीले यहाँ क्लिक गरेर असार १० गतेभित्र आफ्नो रिसर्च पेपर पेश गर्न सक्नेछन् ।​ आयोजकका अनुसार भदौ २४ र २५ मा हुने वर्कशपका लागि छुट्टै टिकेट र २५ मा हुने सम्मेलनका लागि छुट्टै टिकेट लिनुपर्ने हुन्छ । रिसर्च पेपर छनोटको काम सकिएपछि टिकेट खुलाउने आयोजकको तयारी छ । 

छनाेट भएका ह्याकर तथा अनुसन्धानकर्मी भदाै २६ गते हुने सम्मेलनमा आफ्नो पेपर प्रस्तुत गर्न पाउँनेछन् ।  २४ र २५ गते हुने वर्कशपमा टिकेट खरिद गरेर जो पनि सहभागी हुन सक्नेछन् । उक्त वर्कशपमा विभिन्न साइबर सुरक्षाका विषयमा प्रशिक्षकले तालिम दिने नेपालले बताए । "दुई दिने वर्कशपमा विभिन्न विषयमा प्रशिक्षकले तालिम दिनुहुन्छ," नेपालले भने, "सहभागीलाई साइबर सुरक्षाका जुन विषयमा रुचि लाग्छ उनीहरूले त्यही विधाको टिकेट लिएर तालिममा सहभागी हुन पाउनेछन् ।"

पछिल्लो अध्यावधिक: जेठ ३१, २०८० १९:०