close

प्रयोगकर्ताको डेटा चिनियाँ कम्युष्टि पार्टीलाई दिएको भन्दै टिकटकमाथि मुद्दा

टेकपाना टेकपाना

जेठ २५, २०८० १०:३४

प्रयोगकर्ताको डेटा चिनियाँ कम्युष्टि पार्टीलाई दिएको भन्दै टिकटकमाथि मुद्दा

काठमाडौं । टिकटकको मातृ कम्पनी बाइटडान्समाथि चिनियाँ कम्युनिष्ट पार्टी (सीसीपी) सदस्यहरूलाई हङकङका नागरिक अधिकारकर्मी र प्रदर्शनकारीहरूको डेटा पहुँच गर्न अनुमति दिएको आरोप लागेको छ । बाइटडान्सका एक पूर्व कार्यकारीले प्रदर्शनकारी र उनीहरूको लोकेसन पत्ता लगाउन बाइटडान्सले कम्युनिष्ट पार्टीका सदस्यलाई टिकटक डेटामा पहुँच दिएका आरोप लगाएका हुन् ।

बाइटडान्सको अमेरिकी कार्यालयमा इन्जिनियरिङ विभागमा प्रमुख भएर काम गरेका इन्ताओ युले यस्तो आरोप लगाउँदै क्यालिफोर्नियाको एक अदालतमा मुद्दा दायर गरेका छन् । चिनियाँ विरोधी सामग्री अपलोड गर्ने प्रदर्शनकारीहरूको नेटवर्क जानकारी, सिम कार्ड पहिचान, आईपी एड्रेस, लोकेसन लगायतका जानकारी हेर्न बाइटडान्सले चिनियाँ कम्युनिष्ट पार्टीका अधिकारीलाई अनुमति दिएको उक्त मुद्दामा दाबी गरिएको छ ।

युले दायर गरेको मुद्दामा कम्युनिष्ट पार्टीका सदस्यहरूलाई 'सुपरयुजरू क्रेडेन्सियल' मा पहुँच दिइएको उल्लेख छ, जसअन्तर्गत बाइटडान्सले सङ्कलन गरेका सबै डेटा हेर्न अनुमति दिइएको थियो ।

बाइटडान्सले कम्युनिष्ट पार्टीलाई अमेरिकी प्रयोगकर्ताको डेटा पहुँच गर्न 'ब्याकडोर च्यानल' प्रदान गरेको आरोपसमेत यूले लगाएका छन् ।

तर बाइटडान्सका अधिकारीहरूले भने यी सबै दाबलाई अस्वीकार गरेकाे बीबीसीले जनाएकाे छ । २०१८ मा बाइटडान्सको जागिर छोडेका युले त्यसअघिसम्म कहिल्यै यसबारे आवाज नउठाएको र अहिले मिडियाको ध्यान खिच्नमात्रै आफूमाथि आरोप लगाएको बाइटडान्सका प्रवक्ताले बताएका छन् ।

तर टिकटकले डेटा चोरी गरेको आशंकामा विभिन्न देशले कदम चालेका छन् । ​टिकटकले डेटा गोपनीयता जोगाउन नसकेको र उल्टै चिनियाँ सरकारलाई प्रयोगकर्ताको विवरण उपलब्ध गराएको भन्दै बेलायत, क्यानडा लगायतका देशले आफ्ना सरकारी डिभाइसमा टिकटकमाथि प्रतिबन्ध लगाएका छन् ।

पछिल्लो अध्यावधिक: जेठ २५, २०८० १०:४३