close

१ लाखले बढ्यो नेटा भीको मूल्य

टेकपाना टेकपाना

जेठ २५, २०८० १८:३१

१ लाखले बढ्यो नेटा भीको मूल्य

काठमाडौं । कर वृद्धिपछि विद्युतीय कार नेटा भीको मूल्य एक लाख रुपैयाँले बढेको छ । नेटा भीका लागि नेपालको आधिकारिक बिक्रेता सीजी मोटर्सले मंगलबारदेखि नयाँ मूल्य लागू गरेको हो ।

यसअघि ३७ लाख ९९ हजार रुपैयाँमा उपलब्ध नेटा भीको नयाँ मूल्य ३८ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले पेश गरेकाे आ.व. २०८०-८१ को बजेटमा ५० देखि १०० किलोवाट क्षमताका विद्युतीय गाडीको भन्सार महसुलमा पाँच प्रतिशत र अन्तःशुल्कमा १० प्रतिशत वृद्धि गरिएको छ ।

त्यससँगै यी क्षमताका गाडीको मूल्य १५ देखि २० प्रतिशत बढ्ने अपेक्षा थियो । तर, कम्पनीले नेटा भीको मूल्य करिब २.५ प्रतिशतले वृद्धि गरेको छ । ​सीजी मोटर्सका सहायक महाप्रबन्धक सुरेन्द्रबहादुर शाहीले नयाँ मूल्यमा छुट उपलब्ध नहुने जानकारी दिए ।

कस्तो छ नेटा भी ?

४०७० एमएम लम्बाइ, १६९० एमएम चौडाइ र १५४० एमएम उचाइ रहेको यो कारको ह्वीलवेस २४२० एमएम रहेको छ । त्यस्तै, यसको ग्राउन्ड क्लियरेन्स १६० एमएम रहेको छ भने टेस्लाको जस्तै डिजाइन भएको यो कार आकर्षक र बोल्ड देखिन्छ ।

यो कारमा की–लेस इन्ट्री सिस्टम, रियर भ्यु क्यामेरा, ‘टीपीएमएस’ (टायर प्रेसर मनिटरिङ सिस्टम), ‘एबीएस’ (एन्टी–लक ब्रेकिङ सिस्टम), हिल स्टार्ट असिस्ट, ड्राइभर/प्यासेन्जर एयरब्याग आदि जस्ता सुरक्षाका फिचर उपलब्ध छन् ।

कारको दुवै छेउमा चार्जिङ पोर्ट राखिएको छ भने त्यसको एक भागमा स्लो चार्जिङ पोर्ट र अर्को भागमा फास्ट चार्जिङ पोर्ट दिइएको छ । यो कार फुल चार्ज ६.६ किलोवाट एसी चार्जरबाट आठ घण्टा लाग्छ । ६० किलोवाटको डीसी फास्ट चार्जरबाट भने २० मिनेटमा ३० देखि ८० प्रतिशतसम्म चार्ज गर्न सकिने कम्पनीको दाबी छ ।

गाडीमा ३८.५४ किलोवाट आवरको ब्याट्री प्याक उपलब्ध छ । यसले फुल चार्जमा ३८० किलोमिटर रेन्ज प्रदान गर्ने बताइएको छ । 

कम्पनीका अनुसार गाडीको बाहिर भागमा रहेका र चलाउन नमिल्ने पार्टमा १० वर्ष अथवा दुई लाख किलोमिटरसम्मको वारेन्टी रहेको छ । साथै ब्याट्री र मोटरमा आठ वर्ष अथवा एक लाख ५० हजार किलोमिटर सम्मको वारेन्टी पाउन सकिने छ ।

प्रति किलोमिटर ५० पैसा मै यात्रा गर्न सकिने दाबी गरिएको यो गाडी सिल्भर क्लाउड ह्वाइट, स्काइ ब्लु, स्काइ ग्रे, चेरी ब्लुसम पिङ्क र पोर्सेलिन सायन गरी पाँच फरक रङ्गमा उपलब्ध छ ।

पछिल्लो अध्यावधिक: जेठ २५, २०८० १८:४८