close

मेस्सी आवद्ध हुने भएपछि इन्स्टाग्राममा ४ गुणा बढेर ५० लाख पुगे इन्टर मियामीका फलोअर

टेकपाना टेकपाना

जेठ २५, २०८० १९:३८

मेस्सी आवद्ध हुने भएपछि इन्स्टाग्राममा ४ गुणा बढेर ५० लाख पुगे इन्टर मियामीका फलोअर

काठमाडौं । अमेरिकी फुटबल क्लब इन्टर मियामीको इन्स्टाग्राममा १७ घण्टामै ४० लाखभन्दा धेरै फलोअर बढेका छन् । बुधबार राति प्रसारण भएको एक अन्तर्वार्तामा स्टार फुटबलर लिओनल मेस्सीले आफू इन्टर मियामीमा आवद्ध हुने जानकारी दिएसँगै क्लबको सामाजिक सञ्जाल अकाउन्टमा फलोअरको ओइरो लागेको हो । 

खबर बाहिरिनुअघि इन्टर मियामीको फेसबुक पेजमा करिब तीन लाख र इन्स्टाग्राममा १० लाख फलोअर थिए । क्लबले नेपाली समय अनुसार बिहीबार बिहान एक बजे मेस्सीसँग सम्बन्धित भिडिओ पोस्ट गरेपछि अकाउन्टमा फलोअर बढ्न थालेका थिए । 

पोस्ट राखिसकेपछि अहिलेसम्म इन्टर मियामीको फेसबुक पेजमा नौ लाख बढी फलोअर पुगेका छन् । त्यस्तै इन्स्टाग्राममा फलोअरको सङ्ख्या ५१ लाख नाघेको छ । 

यस हिसाबले करिब १७ घण्टाको अवधिमा इन्टर मियामीको इन्स्टाग्राममा ४० लाख र फेसबुकमा छ लाख बढी फलोअर थपिएका छन् । मेस्सीले औपचारिक रूपमा आफू इन्टर मियामी क्लबमा अनुबन्ध भएको घोषणा भने गरेका छैनन् । 

मेस्सी आवद्ध हुने भनिएको क्लबको फलोअर बढिरहँदा उता मेस्सीले छोडेको क्लबको फलोअर सङ्ख्या भने लगातार ओरालो लागिरहेको छ । शनिबार रातिदेखि फ्रेञ्च क्लब पीएसजीको इन्स्टाग्राममा  फलोअरको सङ्ख्या २६ लाख बढीले घटिसकेको छ ।

 

 

पछिल्लो अध्यावधिक: जेठ २५, २०८० २०:२५