काठमाडौं । नेपाल बीमा प्राधिकरणले आफ्नो भुक्तानी सम्बन्धी कारोबारहरुलाइ डिजिटलमैत्री बनाउन नेपाल क्लियरिङ हाउस (एनसीएचएल) सँग सहकार्य गरेको छ ।
यसका लागि हालै बीमा प्राधिकरण र एनसीएचएलबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौतासँगै प्राधिकरणको आन्तरिक भुक्तानी प्रणालीलाई एनसीएचएलको नेसनल पेमेन्ट इन्टरफेस (एनपीएस) सँग जोडी विभिन्न भुक्तानीमध्ये तलब, भेण्डर भुक्तानी, लगानी, लगायतका विभिन्न प्रकारका भुक्तानी सम्बन्धी कारोबारहरु आफ्ना तथा लाभग्राहीहरुका बैंक खाताहरु बीच सोझै गर्न सकिने बताइएकाे छ ।
बीमाको क्षेत्रमा नयाँ आयाम थप्दै डिजिटल भुक्तानीको माध्यमको प्रयोगलाई थप प्रोत्साहन गर्न नेपाल बीमा प्राधिकरण र एनसीएचएलसँगको यस सहकार्यले टेवा पुर्याउने विश्वास गरिएको छ ।
एनसीएचएलका विभिन्न भुक्तानी प्रणालीहरुको एकीकृत इन्टरफेसको रुपमा विकास गरिएको एनपीएसमा हाल ५५ बैंक वित्तीय संस्थाहरु आबद्ध छन् भने १५ बीमा कम्पनीहरुका साथै अन्य पीएसपी/पिएसओ, रेमिट्यान्स कम्पनीहरु, मर्चेन्ट बैंक, सरकारी तथा अर्ध–सरकारी संस्थाहरू लगायतका ९० भन्दा बढी गैरबैंकिङ संस्था अप्रत्यक्ष/प्राविधिक सदस्यका रुपमा आबद्ध छन् ।