काठमाडौं । अब सरकारको एकीकृत कार्यालय व्यवस्थापन प्रणालीमार्फत पठाइएका पत्रको आधिकारिकता क्यूआर कोड स्क्यान गरेर जाँच गर्न सकिने भएको छ । हालै सूचना प्रविधि विभागले यो विशेषता थप गरेको हो ।
एकीकृत कार्यालय व्यवस्थापन प्रणाली लागू भइसकेका कार्यालयबाट प्रणाली प्रयोग नगरेका अन्य संस्था र व्यक्तिलाई पत्राचार हुँदा हाललाई पत्रको हार्ड कपि नै प्रिन्ट गरी पठाउनुपर्ने व्यवस्था छ । यस सन्दर्भमा प्रणालीबाट स्वीकृत पत्र प्राप्त गर्ने प्रणाली बाहिरको निकायले सो पत्रको आधिकारिकता प्रमाणित गर्न पत्रको माथि दाहिनेतर्फ रहेको क्यूआर कोड स्क्यान गर्न सक्ने भएका छन् ।
क्यूआर कोड स्क्यानपछि प्राप्त लिंक खोल्दा प्रणालीले पत्र हेर्ने वा प्रिन्ट गर्न चाहेको व्यक्तिको मोबाइल नम्बर माग्नेछ । यसरी उपलब्ध गराइएको आफ्नो मोबाइल नम्बरमा ओटीपी (वन टाइम पासवर्ड) मार्फत प्राप्त हुने र सो ओटीपी राखेमा उक्त पत्रको मूल कपि आधिकारिक वेबसाइट (https://gioms.gov.np/ खुल्नेछ ।
हालै थप भएको यस किसिमको व्यवस्थाले प्रणाली प्रयोग नगरेका निकायले आफूलाई प्राप्त पत्रको आधिकारिकता जाँच गर्नसक्ने र अर्कोतर्फ कुन मोबाइल नम्बर भएको व्यक्तिबाट कहिले कति पटक कुन पत्र हेरिएको भन्ने रेकर्ड बस्न गई प्रणालीको सुरक्षित प्रयोग हुने विभागको भनाइ छ ।
यसरी खोलिएको वा डाउनलोड भएको पत्रको ब्याकग्राउन्डमा खोल्ने व्यक्तिको मोबाइल नम्बरसमेत वाटरमार्कका रूपमा रहने हुँदा प्रणालीको दुरुपयोग भएमा सोको प्रमाण समेत रहने व्यवस्था थप गरिएको विभागले जनाएको छ ।