काठमाडौं । नेपाली स्टार्टअप लुना जीपीएसले आफ्नो प्रविधिलाई भारतमा निर्यात गरेको छ । कम्पनीले आफ्नो भेहिकल ट्रयाकिङ सिस्टममा नयाँ फिचरहरू थप्दै भारतमा बजार विस्तार गरेको हो । कम्पनीले यसका लागि भारतको ‘इन्डिया साइन टेक्नोलोजी’ सँग साझेदारी गरेको छ ।
हाल लुना जीपीएसले कैलाली भन्सार कार्यालयबाट भारत जाने १० ओटा मालवाहक गाडीमा उक्त प्रविधि जडान गरेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुमन पौडेलले जानकारी दिए । उनका अनुसार कम्पनीले भारतको उत्तर प्रदेशमा यो सेवा विस्तार गरेको हो । अब विस्तारै नेपालको सिमा जोडिने भारतको उत्तराखण्ड, विहार, पश्चिम बङ्गाल, सिक्किम लगायतका क्षेत्रमा पनि सेवा विस्तार गर्ने उनले जनाए ।
कम्पनीको यो कदमबाट व्यापारीहरूलाई फाइदा पुग्ने उनकाे विश्वास छ । “हाम्रो प्रविधि प्रयोग गर्दा नेपाल/भारत दुवै देशमा कारोबार गर्ने व्यापारीलाई गाडी ट्य्राकिङ गर्न सक्ने सजिलो हुन्छ,” उनले भने, “अहिले नेपालबाट भारतमा विभिन्न कम्पनीले सामान निर्यात गर्न थालेको छ । उहाँहरूलाई हाम्रो प्रविधि उपयोगी हुन्छ ।”
कम्पनीले भारतमा आफ्नो प्रविधि निर्यात गरे पनि त्यहाँ बजारिकरण भने इन्डिया साइन टेक्नोलोजीले गर्ने उनले जानकारी दिए । तर काम तथा कारोबार भने लुना जीपीएसको नामबाट हुने उनले बताए । कम्पनीले भारत निर्यात गरेको प्रविधिमा गाडी कतै ठोक्किँदा वा दुर्घटनामा पर्दा, धेरै टर्निङमा गाडी गुड्दा जानकारी दिने, गाडी नजिकै रहेको पेट्रोल पम्प, एटीएम, अस्पताल एपमा नै देखाउने, गाडीको बिल बुकको अवधि समाप्त हुन लागेको, गाडीको मासिक खर्चबारे जानकारी दिने, गाडी सर्भिसिङ गर्ने समयबारे जानकारी दिने जस्ता फिचर थपेको छ ।
यसअघि उक्त प्रविधिमा गाडीको स्पिड कति छ, दिनमा कति दूरी गुड्यो, कति इन्धन खपत गर्याे , गाडीबाट कुन समयमा डेटा आयो, ओभर स्पिड कति बेला, कुन ठाउँमा भयो भन्ने कुराबारे जानकारी पाउन सकिन्थ्यो । त्यस्तै ट्रिप समरी, लाइभ ट्य्राकिङ, ओल्ड हिस्ट्री जस्ता फिचर समेत रहेका छन् ।