close

वनएक्स बेट प्रकरणः कलाकार/युट्युबरमाथि अनुसन्धान गर्न ६ दिन म्याद थप

टेकपाना टेकपाना

असार ४, २०८० १२:२०

वनएक्स बेट प्रकरणः कलाकार/युट्युबरमाथि अनुसन्धान गर्न ६ दिन म्याद थप

काठमाडौं । गैरकानूनी अनलाइन जुवा (वनएक्स बेट) खेलाउने गिरोहलाई सघाएको आरोपमा पक्राउ गरेका ८ जना कलाकार युट्युबरमाथि अनुसन्धान गर्न पुनः ६ दिन म्याद थपिएको छ । यसअघि बिहीबार जिल्ला अदालत काठमाडौंले पक्राउ परेकालाई हिरासतमा राखेर अनुसन्धान गर्न चार दिनको अनुमति दिएको थियाे ।

वनएक्स बेटकाे प्रचार गरेकाे आरोपमा कलाकार/युट्युबरहरू मरिचमान श्रेष्ठ (बल्छी धुर्वे), राजु पौडेल (राजु मास्टर) पवन खतिवडा (म्याकुरी) एलिस राई, जलन घर्तिमगर (जलन), गणेश देवकोटा (गणेश जीडी), सरोज घिमिरे (ढेडु बुढो) र ‍बेगम नेपाली (भटभटे माइला) बिहीबार पक्राउ परेका थिए । उनीहरूलाई सट्टेबाजी गर्न वा गराउन नहुने कसूरमा थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको थियो ।

बेटिङ कारोबारमा थप संलग्नताबारे अनुसन्धान भइहेकाे काठमाडौं जिल्ला परिसरका प्रवक्ता प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले बताए ।

वनएक्स बेटमार्फत ६४ कराेडको सट्टेबाजी गराउने पाँच एजेन्टहरूलाई बुधबार सार्वजनिक गरेपछि यसको प्रचारमा संलग्न व्यक्तिहरूलाई पनि प्रहरीले कारबाहीको दायरामा ल्याउन थालेको छ । योसँगै सामाजिक सञ्जाल तथा अन्य माध्यमबाट विभिन्न बेटिङ प्लेटफर्मको प्रचार गर्नेहरू प्रहरीको निगरानीमा परेका छन् ।

पछिल्लो समय युट्युब, फेसबुक, टिकटक लगायतका सामाजिक सञ्जालमा अनलाइन बेटिङको प्रचार तथा खेल खेलाउने कार्य भइरहेको देख्न सकिन्छ । यसअन्तर्गत वनएक्स बेट, उल्फ ७७७, सीजी बुक लाइभ, फिफिया, बेट ३६५, मेल बेट जस्ता प्लेटफर्म सक्रिय छन् ।

नेपालको मुलुकी अपराध संहिता २०७४ को धारा १२५ मा जुवा खेल्न वा सट्टेबाजी गर्नु नहुने व्यवस्था छ । धारा १२५ को ९२० को उपदफा ९१० को (क)मा पहिलो पटक जुवा खेल्ने वा खेलाउनेलाई तीन महिनासम्म कैद वा ३० हजार रुपियाँसम्म जरिवाना र उपदफा (ख)मा दोस्रो पटकदेखि जुवा खेल्ने वा खेलाउनेलाई एक वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना र त्यसपछिको कसूरमा पटकैपिच्छे थप तीन महिनासम्म कैद र १० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ ।

यस अघि शीर्षक र समाचार फरक पर्न गएकाले सच्याइएको छ । यसबाट पर्न गएको असुविधा प्रति क्षमायाचना गर्दछौं । स.

पछिल्लो अध्यावधिक: असार ४, २०८० १५:४२