close

यस्ता छन् क्रोमबुक सम्बन्धी आठ भ्रम

टेकपाना टेकपाना

असार ५, २०८० ११:१०

यस्ता छन् क्रोमबुक सम्बन्धी आठ भ्रम

काठमाडौं । क्रोमबुक गुगलले उत्पादन गर्ने ल्यापटप हो । यो ल्यापटप गुगलको क्रोम ओएसमा आधारित छ । अन्य ल्यापटपभन्दा यो फरक छ, किनभने यो क्लाउड कम्प्युटिङमा आधारित ल्यापटप हो । यसको अर्थ अन्य ल्यापटपमा भएका सबै कुराहरू ‘क्रोम ओएस’ मा पनि गर्न सकिन्छ ।

तर यसमा डेस्कटप एप्लिकेसनहरू भने प्रयोग गर्न सकिँदैन । अन्य ल्यापटपको तुलनामा यो अलि सस्तो हुने गर्छ । हलुङ्गो हुनुका साथै ब्याट्री पनि यसमा केही लामो समय टिक्छ ।

सन् २०११ मा पहिलो पटक सार्वजनिक भएको क्रोमबुक बजारमा त्यति धेरै चर्चामा छैन । बजारमा यो ल्यापटपको विषयमा धेरै भ्रमहरू छन् । उदाहरणको लागि मानिसहरू अफलाइन हुँदा क्रोमबुक प्रयोग गर्न इन्टरनेट नै चाहिन्छ भन्ने सोच्छन् जुन गलत हो । 

आज हामी यस ल्यापटप बारे फैलिएका केही गलत धारणाहरू बारे जानकारी दिँदैछौँ: 

क्रोमबुक कम शक्तिशाली हुन्छ

सुरुवाती दिनहरूमा अन्य ल्यापटपको तुलनामा क्रोमबुक कम शक्तिशाली हुन्छ भन्ने हल्ला धेरै फैलिएको थियो । हुन पनि सुरुका दिनहरूमा यो ल्यापटपमा अन्य कुनै एपहरू उपलब्ध थिएन ।

यसमा क्रोम ब्राउजर मात्र प्रयोग गर्न सकिन्थ्यो । तर जसै धेरैले यसलाई विद्यालय, व्यापार लगायत विभिन्न क्षेत्रमा प्रयोग गर्न थाले, गुगलले पनि क्रमशः यसमा फिचर थप्दै लग्यो । अहिले अन्य ल्यापटपमा हुने धेरै काम यसबाट पनि गर्न सकिन्छ । 

क्रोम मात्र प्रयोग गर्न सकिन्छ

क्रोमबुकमा क्रोम ब्राउजर मात्र प्रयोग गर्न सकिन्छ भन्ने धारणा छ । तर यो गलत हो । यसमा ब्रेभ, फायरफक्स जस्ता अन्य ब्राउजर पनि प्रयोग गर्न सकिन्छ ।

यसका लागि भने गुगल प्ले स्टोरबाट तपाईंले ती ब्राउजर डाउनलोड गर्नुपर्ने हुन्छ । यी एपहरू एन्ड्रोइड फोनका लागि भए पनि क्रोमबुकमा पनि प्रयोग गर्न सकिन्छ । 

क्रोमबुक सुरक्षित हुँदैन 

सुरक्षाको हिसाबले हेर्ने हो भने क्रोमबुक पनि अन्य ल्यापटप जस्तै सुरक्षित हुन्छ । यसमा पनि विभिन्न अनलाइन साइबर थ्रेटहरूबाट बच्नका लागि विभिन्न फिचर उपलब्ध गराइएको छ ।

डिभाइस तथा वेबसाइटहरूमा हुने जोखिमको अध्ययनबाट तयार गरिएको सीभीई भल्नरेबिलिटी डेटा (CVE vulnerability data) रिपोर्टका अनुसार क्रोमबुकमा ५० ओटा जोखिम देखिदा विन्डोज १० मा तीन हजार बढी त्यस्ता जोखिम देखिएका थिए । 

अफलाइनमा काम गर्दैन

क्रोमबुक सम्बन्धी सबैभन्दा ठूलो भ्रम भनेको यसले अफलाइन काम गर्न सक्दैन भन्ने थियो । वास्तवमा यसको पहिलो मोडलले अनलाइनमा मात्र काम गर्नसक्थ्यो त्यही भएर पनि मानिसहरूमा यस्तो धारणा रहेको हुनसक्छ ।

तर समयसँगै परिष्कृत हुँदै सार्वजनिक भएका नयाँ संस्करणका क्रोमबुक भने इन्टरनेटबिना पनि प्रयोग गर्न सकिन्छ । कतिपय एपहरू अफलाइनमा काम गर्ने हुन्छन् । त्यस्ता एपहरू क्रोमबुकमा प्रयोग गर्न सकिन्छ ।

त्यस्तै नोट टिपोट गर्ने, चलचित्र हेर्ने, गीत सुन्ने, किताब पढ्ने जस्ता अफलाइन काम क्रोमबुकबाटै हुने गर्छ । गुगल ड्राइभमा डकुमेन्टहरू अफलाइनमा पनि बनाउन, सम्पादन गर्न सकिन्छ ।  

गेम खेल्न सकिँदैन

बजारमा शक्तिशाली कम्प्युटर आउनु अगाडि धेरैले वेबमा आधारित गेम मात्र खेल्ने गर्थे । क्रोमबुकको सुरुको भर्सनमा गेम डाउनलोड गरेर खेल्न सकिँदैन थियो । तर सन् २०१६ पछि त्यो सुविधा पनि यसमा उपलब्ध भएको छ ।

एपेक्स लेजेन्ड मोबाइल, रबलक्स, स्टीम, जीफोर्स, अमेजन लुना जस्ता गेमहरू यसमा खेल्न सकिन्छ । यस बाहेक थुप्रै गेमहरू तपाईंले क्रोमबुकमा खेल्न सक्नुहुन्छ । 

फोटो र भिडिओ एडिट गर्न सकिँदैन

क्रोमबुकमा फोटो र भिडिओ सम्पादन गर्न सकिँदैन भन्ने कुरा सत्य होइन । क्रोमबुकमा प्ले स्टोरबाट फोटो तथा भिडिओ एडिटिङ गर्ने एप डाउनलोड गरेर सहज रुपमा एडिटिङ गर्न सकिन्छ ।

त्यस्तै आजभोलि यस प्रकारका एप वेबमा आधारित हुने गर्छ । यसो हुँदा फोटो तथा भिडिओ एडिट गर्ने काम झनै सजिलो भएको छ । उदाहरणका रुपमा: क्यानभाबाट ग्राफिक्स डिजाइन, भिद (Veed) बाट  भिडिओ एडिटिङ र फोटोपी (Photopea) बाट फोटो एडिटको काम गर्न सकिन्छ।

माइक्रोसफ्ट अफिस चल्दैन

धेरै मानिसलाई क्रोमबुकमा माइक्रोसफ्ट अफिस चल्दैन भन्ने भ्रम छ ।  तर यो असत्य हो । विन्डोज अपरेटिङका लागि बनाइएको सफ्टवेयर सुट (Software Suite) क्रोमबुकमा चल्दैन । तर माइक्रोसफ्ट अफिसको प्रोगेसिभ वेब एप - पीडब्लुए (PWAs) भने प्रयोग गर्न सकिन्छ ।

पीडब्लुए वेबसाइटको मोबाइल भर्सन जस्तै हुन्छ । तर यसमा अफलाइन हुँदा पनि काम भने गर्न सकिन्छ । अथवा तपाईंले गुगलको डक्स, स्लाइड, एक्सल चलाउन सक्नुहुन्छ ।

क्रोमबुकमा विन्डोज चल्दैन

क्रोमबुकमा विन्डोज चल्दैन भन्ने धारणा पनि प्रयोगकर्ताहरूमाझ छ । तर यो आधा सत्य मात्र हो । अर्थात्, तपाईंले क्रोमबुकमा विन्डोज इन्स्टल गर्न सक्नुहुन्न । तर रिमोट एक्सेसको माध्यमबाट उक्त अपरेटिङ सिस्टममा भने पहुँच पाउन सक्नुहुन्छ ।

यसका लागि क्रोमको रिमोट डेस्कटप, प्यारालल्स फर क्रोम (Parallers for Chrome) आदि प्रयोग गर्न सकिन्छ ।

पछिल्लो अध्यावधिक: असार ५, २०८० १४:३६