काठमाडौं । ओसनगेटको टाइटन पनडुब्बीले आफ्नो यात्रा क्यानेडाको सेन्ट जोन पोर्टबाट सुरु गर्ने तय भएको थियो । जुन ठाउँबाट पनडुब्बी समुन्द्रभित्र प्रवेश गर्नुपर्ने थियो, त्यो ठाउँ सेन्ट जोन पोर्टभन्दा ७०० किलोमिटर टाढा नर्थ एटलान्टिक ओसनमा थियो । त्यही विन्दुको तल समुन्द्रको गहिराइमा सय वर्षअघि दुर्घटनामा परेको टाइटानिक जहाजको भग्नावशेष रहेको छ ।
गत १७ जुनमा यो यात्रा सुरु गर्ने सबै तयारी पूरा भइसकेको थियो । योजना अनुसार अर्को दिन आइतबार बिहान ८ बजे टाइटनलाई पानीमा उतारी सक्नुपर्ने थियो ।
समुन्द्रभित्र प्रवेश गर्नुअघि पनडुब्बीमा एउटा समस्या आएको पत्ता लाग्यो । तर, त्यसका बाबजुद पनि आफ्नो ज्यान दाउमा राखेर यसलाई समुन्द्रमा छाड्ने निर्णय गरियो । त्यो समस्या के थियो, आखिर समस्या पत्ता लागिसक्दा खतरा मोलेर यात्रुहरू भग्नावशेष हेर्न किन निस्किए, प्रारम्भिक अनुसन्धानका क्रममा के के कुराहरू पत्ता लागे ? आज हामी यसै विषयमा जानकारी दिँदैछौं ।
यो यात्राका लागि पनडुब्बीमा कूल पाँच जना सवार थिए । जसमध्ये एक जना थिए, एक्सन एभियसनका संस्थापक हमिश हार्डिङ । हार्डिङ ती व्यक्ति हुन्, जो अर्बपति जेफ बेजससँगै अन्तरिक्ष यात्रा पनि गरेका थिए । दोस्रो नम्बरमा थिए, ओसनगेटका संस्थापक तथा सीईओ स्टकटन रश ।
ओसन गेट त्यस्तो अमेरिकी कम्पनी हो, जुन ओसन टुरिजम (महासागर पर्यटन) का लागि पनडुब्बी उपलब्ध गराउने गर्छ । त्यस्तै तेस्रो नम्बरमा थिए, ७७ वर्षीय पल हेन्री, जसले पहिले पनि टाइटानिक जहाजको भग्नावशेष अवलोकन गरेर आइसकेका थिए ।
भग्नावशेष सम्बन्धी विज्ञता हासिल गरेका हेन्री टाइटानिकका हरेक पाटपूर्जाबारे जानकार थिए । र, अन्तिममा थिए, पाकिस्तानी मूलका धनाढ्य ब्रिटिश व्यापारी शाहजादा दाउद जो आफ्ना १९ वर्षीय छोरा सुलेमान दाउदसँगै पनडुब्बीमा सवार थिए ।
१७ जुनमा डाइभ गर्नुअघि हार्निश हार्डिङले इन्स्टाग्राममा आफ्नो अन्तिम पोस्ट गरेका थिए । सो पोस्टमा होर्डिङले खराब (चिसो) मौसमका कारण डाइभ ढिलो भएको उल्लेख गरेका थिए ।
“भोलिपल्ट (आइतबर) केही समयका लागि मौसममा सुधार आए हामी डाइभ गर्नेछौं,” उनको पोस्टमा लेखिएको छ । टाइटानिकको भग्नावशेष अवलोकन गर्ने शाेख त्यसमा सवार चार जनालाई मात्र थियो । सुलेमान भने आफ्नो बाबुको वचन काट्न नसकेर यात्रामा निस्किएको उनका आफन्तले विभिन्न सञ्चार माध्यमलाई बताएका छन् ।
सन् १९१२ मा एट्लान्टिक महासागरमा डुबेको विशाल टाइटानिक जहाजको भग्नावशेष खोजी गर्न अन्वेषकलाई त्यति सजिलो थिएन । किनभने एट्लान्टिक महासागरमा खतरनाक ज्वार उत्पन्न हुन्छ । पछि सन् १९८५ मा अन्वेषकहरूले आरएमएस टाइटानिकको भग्नावशेष फेला पारे ।
आइसबर्गमा ठोक्किएर डुबेसँगै टाइटानिकले आफूसँगै कैयौं रहस्य लुकाएको थियो । भग्नावशेष फेला परेपछि त्यसका रहस्यबारे उत्खनन गर्न थालियो । टाइटानिकको रहस्य खोज्नका लागि दर्जनौं अन्वेषण अभियानको व्यवस्था गरियो । जहाँ फरक-फरक देशका विज्ञ तथा अनुसन्धानकर्ताहरू त्यस अभियानमा सहभागी थिए ।
पछि क्यानेडियन फिल्म निर्माता जेम्स क्यामरनले सन् १९९५ मा टाइटानिक दुर्घटनाबारे बुझ्न दर्जनौं पटक भग्नावशेष अवलोकन गरे । र, सन् १९९७ मा टाइटानिक फिल्म निर्माण गरी रिलिज गरे । टाइटानिक फिल्म यति सफल भयो कि करोडौं मानिसहरू टाइटानिक जहाजको भग्नावशेष हेर्न जाने सपना बुन्न थाले । अर्थात् केही समयअघि खोज तथा अनुसन्धानका लागि टाइटानिकको भग्नावशेष हेर्न जाने गरिन्थ्यो भने पछि मानिसहरू पर्यटकका रूपमा पनि मानिसहरू जान थाले ।
भनिन्छ समुन्द्रको पिँधसम्म पुग्न अन्तरिक्षमा पुग्नुभन्दा पनि गाह्रो काम हो । यसको सबैभन्दा ठूलो कारण हो पानीको चाप । टाइटानिक जहाजको भग्नावशेष समुन्द्र सतहभन्दा करिब ३८०० मिटर तल छ । यसको गहिराइ कल्पना गर्नुपर्यो भने पाँच ओटा बुर्ज खलिफा मिलाउँदा जति अग्लो हुन्छ, त्यति नै उचाइ तल टाइटानिकको भग्नावशेष छ ।
यतिको गहिराइमा पानीको चाप ५८०० पीएसआई हुन्छ । यो त्यति नै चाप हो जति मानिसको शरीरको एक वर्ग इन्च भागमा एउटा बडेमानको हात्तीको तौल राख्दा पर्छ । यसबाट २२ फिट लामो पनडुब्बीमा कति चाप पर्छ भन्ने कुरा अनुमान लगाउन सकिन्छ ।
१८ जुन २०२३ अर्थात गत आइतबार दिउसो १२ बजे पनडुब्बीको यात्रा सुरु भयो । सामान्यतः पनडुब्बी यात्रा गर्दा सतहबाट टाइटानिकको भग्नावशेष भएको ठाउँमा पुग्न दुई घण्टा लाग्छ । तर, एक घण्टा ४५ मिनेटपछि पोलर प्रिन्स (समुन्द्र सतहमा रहेको जहाज जसले पनडुब्बीलाई नियन्त्रण गर्छ) सँग पनडुब्बीको सम्पर्क टुट्यो ।
यदि दुई घण्टामा टाइटानिकको भग्नावशेष भएको ठाउँमा पुग्न सकिन्छ भने त्यहाँ पुग्नुभन्दा १५ मिनेटअघि सम्पर्क टुट्नुको अर्थ हुन्छ पनडुब्बी टाइटानिक भग्नावशेषको धेरै नजिक पुगिसकेको छ ।
समुन्द्रको त्यो गहिराइ (३८०० देखि ४००० मिटर) मा सूर्यको किरण पुग्न सम्भव हुँदैन । अर्थात त्यो क्षेत्रमा हरपल अँध्यारो भइरहन्छ । यति गहिराइमा वालेरलेस सिग्नल टुट्नु एक सामान्य कुरा हो । त्यसैले सम्पर्क टुटेको केही समय त यस कुरालाई गम्भीरतापूर्वक लिइएन ।
यो सबै यात्रा करिब सात घण्टाको हुन्छ । अर्तात दिउसो १२ बजे यात्रामा निस्किएका यात्री साँझ सात बजे बाहिर आइसक्नुपर्ने थियो । तर, साँझ सात बजेसम्म न त पनडुब्बी फिर्ता आयो न त सम्पर्कमै आयो । त्यसपछि माथि प्रोलर प्रिन्समा बसेका क्रु हैरान भए ।
पोलर प्रिन्सका क्रु त्यसपछि उक्त पनडुब्बी खोजी गर्नतर्फ लागे । राति पौने दश बजे अमेरिकी तटरक्षकसँग मिलेर पनडुब्बी खोजी कार्य अगाडि बढाए । सोमबार क्यानेडियन तथा अमेरिकन जहाजबाट एटलान्टिक महासागरको क्षेत्रमा ‘सर्च अपरेसन’ सुरु गरे । उनीहरूले समुद्रको सतहमा मात्र नभई सोनार स्क्यानिङको सहायताले पानीभित्र पनि आफ्नो खोजीकार्य जारी राखे ।
त्यस क्षेत्रमा भएका व्यावसायिक जहाजहरूलाई पनि खोजी गर्न निर्देशन दिइयो । त्यसपछिका दुई दिनसम्म सम्भव भएका सबै विधि तथा प्रक्रिया अपनाएर तीव्र रूपमा खोजी तथा उद्धार कार्य अगाडि बढाइयो । तर, टाइटन फेला पर्ने सङ्केत कहीं पनि देखिएन ।
उद्धारकै क्रममा एउटा आशाको किरण देखियो । बुधबार बिहान साढे छ बजे उद्धारमा खटिएका टिमले समुन्द्रको गहिराइबाट केही आवाज सुने । अन्डर वाटर रेडारका माध्यमबाट सुनिएको यो आवाजले पनडुब्बीमा सवार मानिसहरू भेटिने आशा जगाइदियो ।
तत्कालै आरओभी (रिमोट्ली अपरेटेड भेहिकल) लाई सो आवाज आएको ठाउँतिर पठाइयो । तर, त्यसबेला पनि टाइटनबारे केही सङ्केत फेला परेन ।
यता उद्धार तथा खोजीकार्यमा लागेकाहरूलाई सधैंका लागि पनडुब्बी र त्यसमा सवार पाँचै जना यात्रु गुमाउने डर बढ्दै थियो । किनभने पनडुब्बीमा जति अक्सिजन थियो, त्यो जम्मा ९६ घण्टालाई पुग्ने मात्र थियो ।
अर्थात् उक्त अक्सिजन पनडुब्बीमा सवार पाँच जनालाई चार दिनसम्म मात्र पुग्थ्यो । यतिबेलासम्म चार दिनमध्ये तीन दिन बितिसकेको थियो ।
तर पनि अमेरिका तथा क्यानेडाका सर्च टिम जसरी पनि जीवितै उद्धार गर्नुपर्छ भन्ने कुरामा अडिग थिए र त्यही अनुसार खोजी कार्य जारी राखेका थिए । बिहीबार (२२ जुन) दिउसो १२ बजे खोजीमा संलग्न व्यक्तिहरूले आरओभीलाई टाइटानिकको भग्नावशेष भएको ठाउँमा पठाए ।
त्यहाँ पुगेपछि जे कुरा देखियो त्यो सबैको मुटु हल्लाइदियो । बिहीबार दिउँसो पौने ४ बजे आरओभीले पनडुब्बीको एक टुक्रा टाइटानिक जहाजको भग्नावशेष भएको ठाउँभन्दा १६०० फिट पर फेला पार्यो । जुन उद्देश्यले पनडुब्बीको खोजी कार्य थालिएको थियो, त्यो अब सम्भव नहुने कुरा संसारभरका मिडियामा हेडलाइन बनेर आयो ।
यसको एउटै अर्थ हुन्छ, पनडुब्बीले समुन्द्रको चाप थेग्न सकेन र समुन्द्रको त्यो गहिराइमा अन्तःस्फोटन भयो । यो घटनाबारे चासो राख्नेहरू सबैले पनडुब्बीमा सवार सबै यात्रु जीवितै फर्किने कामना गरेका थिए ।
तर, समुन्द्रको पिँधमा टुक्रा फेला पर्नुले पनडुब्बी अन्तःस्फोटन भएर त्यसमा सवार सबै यात्रुको निधन भइसकेको पुष्टि गर्यो । पनडुब्बी समुन्द्रको त्यो गहिराइमा अन्तःस्फोटन भएको उक्त घटनाले ओसनगेट कम्पनीको सुरक्षामा सयौं प्रश्न उठाएको छ ।
यो घटनामा ज्यान गुमाउने ओसनगेटका संस्थापक तथा सीईओ स्टकटन रशले सन् २०२१ मा एक अन्तर्वार्ता दिँदै पनडुब्बी बनाउँदा केही नियम तोडेको बताएका थिए ।
किनभने उनले टाइटनलाई स्टिलले नभइ एभिएसन ग्रेड कार्बन फाइबर (Aviation Grade Carbon Fibre) र प्लाटिनमको मिश्रणबाट बनेको तत्त्वले बनाएका थिए । आफू ओसन टुरिजमको क्षेत्रमा केही नयाँ आविष्कार गर्न चाहेकाले त्यसो गरेको स्टकटनको तर्क थियो । त्यसैले उनले पनडुब्बीमा स्टिलको सट्टा उनले कार्बर फाइबर प्रयोग गरेका थिए ।
पहिलो पटक पनडुब्बी पानीमा छाड्नुअघि पाँच हजारदेखि १० हजार पीएसआई चापमा परीक्षण समेत गरिएको थियो । जसमा पनडुब्बी सफल भयो । तर, विज्ञहरूका अनुसार समुन्द्रभित्र पानीको चाप मात्र नभइ त्यसको वहाव लगायत अन्य हजारौं किसिमका असर पनडुब्बीमा परेका हुन्छन् ।
त्यसबाहेक पनि पानीभित्र अँध्यारो हुने भएकाले पनडुब्बी ठूलो माछा वा कुनै सामुन्द्रिक वस्तुसँग ठोकिएको हुन सक्ने विज्ञहरूको आशंका छ । जे भए पनि टाइटन पनडुब्बी दुर्घटनामा पर्नुको एउटा कारण जहाजमा प्रयोग भएको कार्बन फाइबर हो भन्नेमा विज्ञहरू विश्वस्त छन् । त्यस्तै जहाज दुर्घटनामा पर्नुको अर्को कारण हो त्यसमा पहिल्यैबाट भएको चर्किएको भाग भन्ने पनि उनीहरूको तर्क छ ।
टाइटन पनडुब्बी त्यसअघि सन् २०१९ मा कार्ल स्टन्ली नामका एक व्यवसायीलाई लिएर भग्नावशेष भएको ठाउँमा पुगेको थियो । त्यसबेला पनि पनडुब्बीलाई ओसनगेटका सीईओले चलाएर लगेका थिए । कार्लले सीएनएनसँगको अन्तर्वार्तामा भने अनुसार पनडुब्बीमा सवार भएर पानीभित्र जाँदा टाइटनको भाग चर्किएको आवाज सुनिएको थियो ।
त्यो बेला उनले यो आवाज त्यति ख्याल गरेनन् । किनभने उनलाई स्टकटनले डिजाइन गरेको पनडुब्बीप्रति पूर्ण विश्वास थियो । यो घटनापछि उनले सीएनएनलाई भने, “सायद त्यो आवाजले पहिले नै पनडुब्बीले पानीको चाप धान्न सक्दैन भन्ने कुराको चेतावनी दिएको थियो ।”
यदि यो कुरा सत्य हो भने टाइटनको भाग चर्किन पहिल्यैबाट सुरु भइसकेको थियो । सन् २०१८ मा ओसनगेटका एक अधिकारीले टाइटनको कार्बन फाइबरको जोखिमबारे आवाज उठाएका थिए । यो इस्यु टाइटन पड्किनुभन्दा केही मिलिसेकेन्ड अगाडि मात्र थाहा हुन्छ भनेर ती अधिकारीले पहिल्यै भनेका थिए । र, वास्तविकतामा पनि यही भयो । विज्ञहरूका अनुसार टाइटन पनि ०.३ मिलिसेकेन्डमा अन्तःस्फोटभएको थियो ।
यस घटनाबारे विस्तृत विवरण आउन बाँकी नै छ । हाल दर्जनौं अन्वेषकहरू अनुसन्धानमा केन्द्रित छन् ।
(तस्वीरमा क्रमशः वायाँबाट हमिश हार्डिङ, शाहजादा दाउद, सुलेमान दाउद, पल हेन्री नार्गिओले र स्टकटन रश)