close

नेपालमा पनि चल्न थाल्यो विच्याट पे, क-कसले पाउँछन् प्रयोग गर्न ?

टेकपाना टेकपाना

असार १३, २०८० १३:११

नेपालमा पनि चल्न थाल्यो विच्याट पे, क-कसले पाउँछन् प्रयोग गर्न ?

काठमाडौं । नेपालमा पनि चिनियाँ भुक्तानी प्लेटफर्म विच्याट पे भित्रिएको छ । एनएमबि बैंकले चीनको चर्चित डिजिटल भुक्तानी सेवा विच्याट पे नेपालमा पहिलो पटक भित्र्याएको हो ।

यसअन्तर्गत नेपाल भ्रमणमा रहेका चिनियाँ पर्यटकले 'एनएमबि बैंक विच्याट पे क्यूआर' मार्फत भुक्तानी गर्न सक्छन् । योसँगै नेपाली व्यापारीले नेपाली मुद्रामा भुक्तानी प्राप्त गर्नसक्ने बैंकले जनाएकाे छ ।

''यो सेवा नेपाली व्यापारीहरूका लागि धेरै उपयोगी छ,'' बैंकका अल्टरनेटिभ डेलिभरी च्यानल्स सेल्स म्यानेजर निर्विक सापकोटाले भने, ''चिनियाँ पर्यटकले मर्चेन्ट्स लोकेसनमा राखिएको एनएमबि बैंक विच्याट पे क्यूआरमार्फत भुक्तानी स्क्यान गर्न सक्छन् ।''

याे सुविधाले चिनियाँ पर्यटकलाई नेपाल भ्रमण गर्दा कुनै पनि सेवा किन्न वा लिन चाहेमा उत्कृष्ट अवसर प्रदान गर्ने बताउँदै उनले यसबाट दुई राष्ट्रबीचको क्रस बोर्डर कारोबार सरल बन्ने विश्वास व्यक्त गरे ।

''एनएमबि वि च्याट पे क्यूआरले चिनियाँ पर्यटकहरूका लागि सुविधाजनक क्यूआर कोड भुक्तान समाधानहरू मात्र ल्याउँदैन,'' उनले भने, ''यसले स्थानीय नेपाली व्यापारीहरूलाई सीमापार काराेबार गर्न पनि मद्दत गर्नेछ ।''

पछिल्लो अध्यावधिक: असार १३, २०८० १३:२१