काठमाडौं । वनप्लसका संस्थापक एवं पूर्व कार्यकारी कार्ल पेईको स्थापना गरेको स्मार्टफोन कम्पनी नथिङले अमेरिकी बजारमा आफ्नो व्यवसाय विस्तार गर्ने तयारी गरेको छ । यसका लागि नथिङले ९६ मिलियन डलर (साढे १२ अर्ब रुपैयाँ बढी) को फन्ड पाउने भएको छ ।
हालै हाईल्याण्ड यूरोपको नेतृत्वमा भएको इन्भेस्टमेन्ट राउन्डमा नथिङले यो रकम सुरक्षित गरेको हो । नथिङले गत वर्ष आफ्नो पहिलो स्मार्टफोन नथिङ फोन वन र वायरलेस इयरबडहरू बजारमा ल्याएको थियो । कम्पनी अब नयाँ फोन नथिङ फोन टु सार्वजनिक गर्ने अन्तिम तयारीमा छ ।
यसअघि अमेरिकी बजारमा उपस्थिति नजनाएको नथिङले नयाँ लगानी भित्र्याएर अमेरिकी उपभोक्तासम्म पुग्ने योजना ल्याएको छ । आर्थिक संकटले विश्वभर स्मार्टफोनको बिक्री घटिरहेका बेला नथिङ भने उत्साह बोकेर अमेरिकी बजार प्रवेश गर्ने तयारीमा छ ।