close

भारतको चन्डिगढमा ईभी बाहेक पेट्रोलियमबाट चल्ने २ र ४ पाङ्ग्रे सवारी दर्ता नहुने

टेकपाना टेकपाना

असार १४, २०८० २३:२४

भारतको चन्डिगढमा ईभी बाहेक पेट्रोलियमबाट चल्ने २ र ४ पाङ्ग्रे सवारी दर्ता नहुने

काठमाडौं । भारतको चन्डिगढ प्रशासनले पेट्रोलियम इन्धनबाट चल्ने दुई र चार पाङ्ग्रे गाडी दर्ता नगर्ने भएको छ । ​चन्डिगढले जुलाईदेखि दुई पाङ्ग्रे पेट्रोलियम सवारी र डिसेम्बरदेखि चार पाङ्ग्रे सवारी दर्ता नगर्ने भएको हो ।

टाइम्स अफ इन्डियाका अनुसार यूटी (युनियन टेरिटरी-केन्द्र शासित प्रदेश) को विद्युतीय सवारी नीति २०२२ अन्तर्गत विद्युतीय बाहेकका सवारी साधन निरुत्साहन गर्ने उद्देश्यले यस्तो व्यवस्था ल्याइएको हो ।

“सहरमा पर्यावरणमैत्री र हरित यातायातको लक्ष्य हासिल गर्न प्रशासनले विद्युतीय सवारी नीति २०२२ लाई अनुसूचित गरेको छ,” चन्डिगढ प्रशासनले जारी गरेकाे विज्ञप्तिमा लेखिएको छ, “अघिल्लो वर्षको तुलनामा पहिलो वर्ष अर्थात् २०२२ मा चार पाङ्ग्रे सवारीसाधनमा १० प्रतिशत र दुई पाङ्ग्रे सवारीसाधनमा ३५ प्रतिशतले घटाउने लक्ष्य राखिएको थियो । चालू आर्थिक वर्ष २०२३/२४ को लक्ष्य चार पाङ्ग्रे सवारी साधनमा २० प्रतिशत र दुई पाङ्ग्रे सवारी साधनमा ७० प्रतिशत घटाउने हो ।”

उक्त नीतिमा यो आर्थिक वर्ष छ हजार २०२ ओटा दुई पाङ्ग्रे पेट्रोलियम सवारी दर्ता हुन पाउने उल्लेख गरिएको छ । यता यही आर्थिक वर्षमा २२ हजार ६२६ ओटा दुई पाङ्ग्रे विद्युतीय सवारी दर्ता हुन पाउनेछन् । त्यस्तै चार पाङ्ग्रे पेट्रोलियम सवारीको हकमा पनि सीमा तोकिएको भन्दा बढी सवारी दर्ता नहुने बताइएको छ ।

नोटः यसअघिको शीर्षकमा भुल वश चन्डिगढ राज्य हुन गएकाले सच्याइएको छ । -स.

पछिल्लो अध्यावधिक: असार १५, २०८० १०:३५