close

च्याटजीपीटीलाई तालिम दिन ओपनएआईले इन्टरनेटबाट करोडौं प्रयोगकर्ताको डेटा चोरेको आरोप

टेकपाना टेकपाना

असार १५, २०८० १८:३४

च्याटजीपीटीलाई तालिम दिन ओपनएआईले इन्टरनेटबाट करोडौं प्रयोगकर्ताको डेटा चोरेको आरोप

 

काठमाडौं । आर्टिफिसियल इन्टेलिजेन्स (एआई)लाई तालिम दिन च्याटजीपीटी निर्माता कम्पनी ओपनएआईले इन्टरनेटबाट ठूलो मात्रामा प्रयोगकर्ताको डेटा चोरी गरेको आरोप लागेको छ । क्यालिफोर्नियाको संघीय अदालतमा बुधबार दायर गरिएको मुद्दामा ओपनएआईले गोप्य रूपमा इन्टरनेटबाट ठूलो मात्रामा व्यक्तिगत डेटा चोरी गरेको दाबी गरिएकाे छ ।

१६० पृष्ठको उजुरीमा ओपनएआईमाथि कराेडाैं प्रयाेगकर्ताकर्ताकाे व्यक्तिगत सूचना गोप्य रूपमा चोरेकाे आरोप लगाइएकाे छ । यसबारे कम्पनीसँग बुझ्न खोज्दा ओपनएआईले कुनै प्रतिक्रिया नदिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम सीएनएनले ​जनाएकाे छ ।

ओपनएआईको प्रमुख लगानीकर्ता माइक्रोसफ्टले पनि यसबारे आफ्ना कुनै धारणा दिएको छैन । 

ओपनएआईले गत वर्ष नोभेम्बरमा आफ्नो एआई टुल सार्वजनिक गरेको थियो । मानिसकै शैलीमा सोधेका सबै प्रश्नको भरपर्दो जवाफ दिने भएकाले सार्वजनिक भएको पाँच दिनमै च्याटजीपीटीले सबैभन्दा बढी अर्थात् १० लाख सक्रिय प्रयोगकर्ताको कीर्तिमानी बनाएको थियो ।

उक्त टुलले अहिलेसम्म पनि चौतर्फी चर्चा पाइरहेको छ । च्याटजीपीटीकाे लोकप्रियतापछि माइक्रोसफ्ट, गुगलजस्ता कम्पनीले आफ्नो एआई टुल सार्वजनिक गरेका छन् । त्यसबाहेक विश्वका अधिकांश प्रविधि कम्पनीले एआईलाई प्राथमिकता दिइरहेका छन् ।  

पछिल्लो अध्यावधिक: असार १५, २०८० १८:५१