close

दैनिक ३० हजारको बलुन उडाएर गरिन्छ नेपालमा मौसम पूर्वानुमान, कस्ता छन् अन्य विधि ?

टेकपाना टेकपाना

असार २१, २०८० १९:३८

दैनिक ३० हजारको बलुन उडाएर गरिन्छ नेपालमा मौसम पूर्वानुमान, कस्ता छन् अन्य विधि ?

काठमाडौं । वर्षा याम चलिरहेकाे छ । देशका विभिन्न ठाउँमा बाढी र पहिराेकाे जाेखिम बढ्दाे छ । जल तथा माैसम पूर्वानुमान महाशाखाले विभिन्न माध्यममार्फत माैसम सम्बन्धी अपडेट दिने गर्छ ।

के‍ तपाईंलाई थाहा छ, यसका लागि लाखौं रुपैयाँ खर्च हुन्छ । नागरिक र हवाई उड्डयन क्षेत्रलाई मौसम सम्बन्धी जानकारी दिनु महाशाखाको मुख्य काम हो । आज हामी तपाईंलाई मौसम पूर्वानुमान गर्न प्रयोग भइरहेका केही प्रविधिबारे जानकारी दिँदै छौं:

एस ब्यान्ड रडार (S Band radar) 

महाशाखाले सुर्खेत, पाल्पा र उदयपुर गरी तीन ओटा ठाउँमा एस ब्यान्ड रडार राखेको छ । यी फिस्क्ड रडार हुन् । यी रडारबाट मुख्यत: बादल कुन-कुन ठाउँमा लागेको छ, कस्तो खालको बादल लागिरहेको छ, बादल कता जाँदैछ, कस्तो प्रकारको बादल हाे भन्ने जस्ता विषयहरूको अध्ययन गरिन्छ ।

वायुमण्डलको तल्लो भागको मौसमी गतिविधिबारे तथ्याङ्क सङ्कलन गर्न यी रडार उपयोगी हुन्छन् । ​यसबाट महाशाखाले मौसमबारे रियल टाइम अब्जरभेसन गर्न सक्छ ।

पहाडै पहाड भएको देशमा अरु प्रकारको रडारभन्दा उपयोगी हुन्छ भनेर एस ब्यान्ड रडार जडान गरिएको महाशाखाकी फरकास्टिङ डिभिजनका इन्चार्ज प्रज्ञा मानन्धर बताउँछिन् । महाशाखाले हालै मात्र दुई नयाँ रडार इन्स्टल गरेको हो ।

रेडियोसोन्डेस (Radiosondes) 

यसलाई ‘वेदर बलुन’को नामले पनि चिनिन्छ । बलुनमा वायुमण्डलको तापक्रम, जलवाष्प, चाप आदि नाप्ने सेन्सर जडान गरिएको हुन्छ, जसबाट महाशाखाले मौसम सम्बन्धी रिपोर्ट बनाउन डेटा सङ्कलन गर्ने गर्छ ।

हाल महाशाखाले अपर एयर (Upper Air) अर्थात् वायुमण्डलको माथिल्लो तहको मूल्याङ्कनका लागि बिहान ५:४५ मा नियमित रूपमा यो बलुन उडाउँछ । त्यसबाट वायुमण्डलमा हुने मौसमको अवस्था थाहा पाउन सकिन्छ । त्यसबाट रियल टाइम डेटा प्राप्त हुन्छ ।

त्यो बलुन ३० किलोमिटरमाथि भएर नष्ट हुन्छ । महाशाखाले मौसम पूर्वानुमान गर्न उडाउने यो बलुन निकै खर्चिलो छ । एउटा बलुन उडाउन करिब ३० हजार रुपैयाँ दैनिक लाग्छ । यसरी दैनिक रुपमा बलुन उडाउन थालेको तीन वर्ष भएको छ ।

यसबाट महाशाखालाई चाहिने तथ्याङ्क प्राप्त हुन्छ । त्यो बलुन कहाँ कहाँ गयो भन्ने कुरा भने जीपीएस सिस्टमबाट थाहा पाइन्छ । यो काठमाडौं उपत्यकाबाट बाहिर पनि पुग्न सक्छ । सुरुमा यो आकाशतिर जान्छ । पछि हावाको कारण विभिन्न दिशा लिन थाल्छ । 

बिहानको समयमा जवाईजहाजहरू कम उड्छन् । चराहरू पनि कम उड्छन् । त्यही भएर ‘वेदर बलुन’ बिहान उडाइने महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेल बताउँछन् । तर प्राय: मौसमी घटनाहरू दिउँसो हुने हुँदा मौसम सम्बन्धी रिपोर्ट बनाउन डेटा भने पर्याप्त नपाइने उनको भनाइ छ । यसकारण महाशाखाले आगामी दिनमा रेडियोसोन्डेस बिहान/साँझ गरी दुई पटक उडाउने योजना बनाएको छ । 

न्युमेरिकल वेदर प्रेडिक्सन (Numerical Weather Prediction-NWP) 

मौसम पूर्वानुमान गर्ने विभिन्न विधिमध्ये एनडब्लुपी पनि एक हो । महाशाखाले यसमा वेदर रिसर्स एन्ड फरकास्टिङ (डब्लुआरएफ) मोडल प्रयोग गरेर त्यसको आधारमा मौसम सम्बन्धी तीन दिने पूर्वानुमान गर्ने गरेको छ । यसका लागि हावा, पानी, बादलको अवस्था आदिको डेटा चाहिने गर्छ । 

वेदर क्यामेरा (Weather Camera)

अलि विकट र संवेदशील ठाउँमा यस प्रकारका क्यामेरा राखिन्छन् । यस्ता क्यामेरा दिन र रात दुवै समयमा चल्छन् । रातको समयमा यसले इन्फ्रारेटमा भिडिओ तथा तस्विर खिच्ने गर्छ ।

महाशाखासँग दुर्गम स्थानमा रहेका एयरपोर्टसँगै अन्य ३५ भन्दा बढी क्षेत्रमा यस्ता वेदर क्यामरा स्टेसन छन् । तिनको डेटा सिधै महाशाखाको डेटाेबसमा आउने गर्छ । यस प्रकारका क्यामेराबाट काठमाडौंमा रहेर पनि महाशाखाले ती ठाउँमा प्रत्यक्ष रुपमा मौसमको अध्ययन गर्न सक्छन् ।

वेदर स्टेसन (Weather Station)

विभिन्न ठाउँको मौसम सम्बन्धी जानकारी प्राप्त गर्न त्यहाँ मापन गर्नु पर्ने हन्छ । यसका लागि थुप्रै ठाउँमा वेदर स्टेसन बनाइएको हुन्छ । महाशाखासँग अटोमेटिक र म्यानुअल गरी दुई प्रकार स्टेसन छन् । वर्ल्ड मेट्रोलोजिकल अर्गनाइजेसन (डब्लूएमओ) को मापदण्डका आधारमा महाशाखाले म्यानुअल स्टेसन बनाएको छ । यस प्रकारका स्टेसनमा सबै कुरा मानिसले गर्ने गर्छन् ।

म्यानुअल वेदर स्टेसनसँगै अथवा यो राख्न नसकिने ठाउँमा अटोमेटिक वेदर स्टेसन राखिन्छ । यस स्टेसनमा मौसम सम्बन्धी सबै कुरा नाप्ने बक्स हुन्छ । जहाँ मौसम सम्बन्धी विभिन्न कुरा मापन गर्ने काम स्वत: हुन्छ । विशेष गरेर मानिसहरूको बसोबास नहुने उच्च हिमाली तथा पहाडी भू-भागमा त्यस्ता प्रकारका स्टेसन राखिएको छ । 

तर बेलाबेला यस स्टेसनमा पनि मान्छे जानु पर्ने हुन्छ । कहिल्यै मान्छे जानु नपर्ने भन्ने हुँदैन । त्यस्तै एग्रोमेट स्टेसन, क्लाइमेट स्टेसन आदि गरी यी स्टेसनका पनि विभिन्न प्रकारका हुन्छन् । फरक फरक पारामिटरका आधारमा ती स्टेसनको वर्गिकरण गरिएको हुन्छ ।

स्याटलाइट (Satellite)

मौसम पूर्वानुमान गर्न नेपालसँग आफ्नै छुट्टै स्यालेलाइट छैन । तर यो काममा स्याटलाइटको भूमिका निकै महत्त्वपूर्ण हुने हुन्छ । यहीकारण जापान सरकारले नेपाललाई हिमावारी (Himawari)नामको आफ्नो स्याटलाइट मौसम पूर्वानुमानमा प्रयोग गर्न सहयोग गरिरहेको छ ।

यो स्याटलाइट जापानको आकाशमा नै बस्ने गर्छ । तर त्यसबाट नेपालको देखिने भागको डेटा महाशाखामा पठाउने गर्छ । त्यही डेटाको आधारमा महाशाखाले मौसम पूर्वानुमान सम्बन्धी काम गर्ने गर्छ । यो सहयोगमा प्राप्त डेडिकेटेड स्याटलाइट हो । यस बाहेक एफवाईटूई (FY2E) नामक चिनियाँ स्यालेटलाइटबाट पनि नेपालले मौसम पूर्वानुमानका लागि प्रयोग गरिरहेको छ । 

तर विश्वमा थप विभिन्न आधुनिक प्रविधि प्रयोग गरी मौसम पूर्वानुमान गरिने गरिन्छ । नेपालको सन्दर्भमा पनि प्रविधिको मालिलामा पहिलेको तुलनामा धेरै सुधार भएको छ । यो महाशाखा २४ घण्टा नै खुला हुने सरकारी कार्यालय हो ।

यस कार्यालयमा प्रविधि, जनशक्ति लगायत अन्य धेरै कुरामा सुधार भएको वरिष्ठ मौसमविद् पौडेल अनुभव गर्छन् । तर मौसम सम्बन्धी गरिएका विभिन्न पूर्वानुमान मिल्न भने प्रविधि र जनशक्तिको विकासमा जोड गर्नु पर्ने उनको बुझाइ छ ।

महाशाखाकी फरकास्टिङ डिभिजनका इन्चार्ज प्रज्ञा मानन्धर भने नेपालमा भएका यी प्रविधिहरू चलाउन सक्ने जनशक्ति पर्याप्त नभएको बताउँछिन् । “थोरै कर्मचारीले चाैबिसै घण्टा कार्यालय चलाउनु पर्छ । भीभीआईपी/भीआईपीहरूले भन्नासाथ त्यसको रिपोर्ट बनाउनुपर्छ,” उनी दु:खेसो गर्छिन्, “गरेको अनुमान मिलेन भने गाली खानु त छँदैछ ।”

पछिल्लो अध्यावधिक: असार २१, २०८० २२:२३