काठमाडौं । प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले जिल्लाबाटै साइबर अपराधको मुद्दा निर्क्यौल गर्ने सरकारको निर्णयले प्रहरीलाई सहयोग पुगेको बताएका छन् । शुक्रबार प्रहरी प्रधान कार्यालयमा आयोजित अन्तर्क्रिया कार्यक्रममा बोल्दै उनले जिल्लाबाटै साइबर अपराधको मुद्दा चलाउने निर्णयले कामकारबाही छिटो हुने भनाइ राखे ।
''साइबर अपराधको कुरामा हाम्रो माग अनुसार नै क्याबिनेटले निर्णय गरेको छ'' उनले भने, ''नागरिकहरुको हितकाे लागि सेवा प्रवाहकै लागि अहिले जिल्ला-जिल्लाबाट साइबरको मुद्दा चलाउने र यसलाई नियन्त्रण गर्ने भन्ने कुरा छ ।’
६ असारमा बसेको मन्त्रिपरिषद्को बैठकले विद्युतीय कारोबार ऐन २०६३ को दफा ६० को उपदफा ५ बमोजिम र सोही ऐन परिच्छेद ९ मा उल्लेख भए बमोजिमका कसूरहरूको कारबाही सुरु गर्ने तथा निर्णय लिने अधिकार सबै जिल्ला अदालतलाई दिने निर्णय गरेको थियो । यसअघि साइबर अपराध सम्बन्धी मुद्दाहरू काठमाडौं जिल्ला अदालतले मात्र हेर्ने प्रावधान थियो ।
अन्तर्क्रियामा बोल्दै प्रहरी महानिरीक्षक कुँवरले पछिल्लो समय विद्युतीय सट्टेबाजीसहित भुटानी शरणर्थी प्रकरण, ललिता निवास प्रकरण, सहकारी ठगी प्रकरण लगायतमा कारबाही अघि बढेको जानकारी दिए ।