close

‘नक्कली मानिस बनाउने च्याटबट निर्माताहरूलाई जेल हाल्नुपर्छ’

टेकपाना टेकपाना

असार २३, २०८० १३:४७

‘नक्कली मानिस बनाउने च्याटबट निर्माताहरूलाई जेल हाल्नुपर्छ’

काठमाडौं । इजरायली इतिहासकार तथा लेखक युवल नोवा हरारीले आर्टिफिसियल इन्टेलिजेन्समा आधारित भएर मानिसको जस्तै काम गर्ने च्याटबट निर्माता कम्पनीहरुलाई जेल हाल्नुपर्ने अभिव्यक्ति दिएका छन् । जेनेभामा आयोजित संयुक्त राष्ट्र संघको एआई फर गुड ग्लोबल शिखर सम्मेलनमा बोल्दै उनले  नक्कली मुद्राको व्यापार गर्ने व्यक्तिहरुलाई जत्तिकै नक्कली मानिस बनाएको आरोपमा एआई कम्पनीहरूलाई सजाय दिनुपर्ने माग राखे ।

सामाजिक सञ्जालका प्लेटफर्महरूमा नक्कली प्रोफाइलहरू हटाउन नसक्ने प्रविधि कम्पनीलाई पनि जेल सजायसहित प्रतिबन्ध लगाउनुपर्नेमा उनले जाेड दिए । ''नक्कली मानिसहरू सिर्जना गर्न सम्भव भएकाे छ ," उनले भने, ''यदि यसो हुन दिइयो भने नक्कली पैसाले वित्तीय प्रणालीलाई चुनौती दिए जस्तै यसले मानव सभ्यतालाई चुनौती दिनेछ । वास्तविक मानिस को हो भनेर थाहा पाउन नै सकिएन भने यसले मानिस माथिको विश्वासमा प्रश्न उठाउन सक्छ ।''

च्याटजीपीटी लगायत अन्य ठूला ल्याङ्ग्वेज मोडेलहरूका कारण एआई बटहरूले मानिसको अस्तित्व नै चुनौती दिने खतरा रहेको धारणा राखे । ''सामाजिक सञ्जालमा एउटा मानिसले तयार गर्नसक्ने भन्दा राम्रो सामग्री तयार गर्न सक्ने लाखौं बटहरू भयो भने के हुन्छ ?," उनले  भने, " हामीले यसाे हुन दिए मानिसहरूले सार्वजनिक रुपमा हुने कुराकानीलाई पूर्ण रुपमा बेवास्ता गर्नेछन् । साथै लोकतन्त्र कामविहीन हुनेछ ।"

सामाजिक रुपमा मानिसको अस्तित्व मेटिँदै जाने भन्दै उनले यस्ता एआई बट बनाउने कम्पनीहरूलाई अपराधी घोषणा गरी सजाय दिन माग राखे ।

"नक्कली पैसा बनाउन धेरै सजिलो छ, चाहे त्यो सिक्का होस् वा बैंक नोट," उनले भने, "वित्तीय प्रणालीको रक्षा गर्न सरकारहरूले नक्कली पैसा विरुद्ध धेरै कडा नियमहरू बनाएका छन् । यसरी नै नक्कली मानिस बनाउने कम्पनीविरुद्ध पनि कदम चालिनुपर्छ ।"

हरारीले एआई सुरक्षामा ठूलो लगानीका लागि पनि आह्वान गरेका छन् । कम्पनीहरूले एआईबाट हुनसक्ने जोखिमहरूको अनुसन्धान गर्न र कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा कम्तीमा पनि २० प्रतिशत लगानी गर्नुपर्ने धारणा राखे ।

पछिल्लो अध्यावधिक: असार २३, २०८० १४:४९