close

यस्तो छ ‘ओरा जिरो थ्री’ बिजुली गाडी

असार २३, २०८० १४:५९

काठमाडौं । हामी हालै थापाथलीमा रहेकाे ग्रेटवाल मोटर्स (जीडब्लूएम)को शाेरुम गयाैं, जहाँ बिजुली गाडी 'ओरा जिरो थ्री' (Ora 03) को पहिलो अनुभव अर्थात् ‘फस्ट इम्प्रेसन’ गर्न पायौं ।

लुक्सका कारण यो बिजुली गाडी चर्चामा छ । गोलो फुल एलईडी हेडलाइट, सर्कुलर डेटाइम रनिङ लाइटहरू आकर्षक डिजाइनले तयार पारिएकाे छ । 

यसमा ७ एयरब्याग, एबीएसको साथमा ईबीडी, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल (ईसीएस), ट्र्याक्सन कन्ट्रोल सिस्टम ) टीसीएस), इलेक्ट्रोनिक पार्किङ ब्रेक, अप हिल असिस्ट कन्ट्रोल, अटोमेटिक सवारी होल्ड, फ्रन्ट कोलिसन वार्निङ, अटोमेटिक इमर्जेन्सी ब्रेकिङ लगायतका सुरक्षा सुविधा छन् । 

गाडीमा ४७.७८ किलोवाटको लिथियम आइरन फोस्फेट ब्याट्री, ४०० किमिसम्मको अधिकतम रेन्ज, ९९ किलोवाटको पिक पावर र २१० एनएम टर्क भएको स्थायी चुम्बकीय सिंक्रोनस इलेक्ट्रिक मोटर रहेकाे छ ।

गाडीको ‘बडी’ ब्रान्डिङ गर्न ‘गुड क्याट ओरा’ भनेर लेखिएको छ, जुन थाइल्यान्डको नाम हो । युरोपमा ‘फङ्की क्याट’ भनेर बिक्री गरिन्छ । तर, गाडीको ग्लोबल नाम ‘ओरा जिरो थ्री’ हो ।

यो गाडी विभिन्न रङमा उपलब्ध छ । शाेरुममा भने सेतो र रातो गरी दुई रङमा उपलब्ध छ । 

हामीलाई यसको ब्रेक र कन्ट्रोल निकै राम्रो लाग्यो । म्यानुअल भएको भए क्लज र गियर परिवर्तन गरिरहनु पर्छ । तर यसमा ड्राइभ मोडमा लगेपछि एक्सिरेलेसन र ब्रेकमा मात्र काम गर्नुपर्छ ।

गाडीको इन्टेरियरलाई भने दुई रङले सजाइएको छ । हामीले चलाएको गाडीमा रातो र सेतो रङ थियो । भित्र सिटमा बस्दा प्रिमियम अनुभव हुन्छ । अगाडि स्पिडोमिटरमा कति आरपीएममा  कुदिरहेको छ, कति किलोमिटर प्रति घण्टा छ, कुन मोडमा छ, कति रेञ्ज दिन्छ लगायतका कुरा देखाउँछ । 

गाडीले अधिकतम ४०० किलोमिटर रेञ्ज दिने बताइएको छ । तर नेपाली सडककाे सन्दर्भमा ३२५ किमिसम्म दिन सक्छ ।

सामान्य गाडीमा भन्दा यसमा एउटा कुरा ठीक विपरीत छ । अन्य गाडीको दायाँ भागमा साइड लाइट हुन्छ, तर यसमा वाइपर छ । त्यस्तै बायाँ भागमा साइड लाइड छ । यसो हुँदा यसमा बानी पर्न केही दिन लाग्न सक्छ । तर यो त्यति ठूलो समस्या भने होइन ।

ड्राइभिङ गर्न चार ओटा माेड दिइएकाे छ । स्टेरियरिङ माेड पनि फरक छन् । यसमा बुट स्पेस (डिकी) २५६ लिटर र ग्राउन्ड क्लियरेन्स १६० एमएमको छ । यो गाडी हामीले झन्डै १० किलोमिटर चलायौं ।

चलाउन सुरु गर्दा ३८४ किमी रेञ्ज बाँकी देखाएकोमा बन्द गर्दा ३७४ देखाइरहेको थियो । त्यसको आधारमा रेञ्ज राम्रो दियो भन्नुपर्छ ।

नेपाली बजारमा 'ओरा जिरो थ्री'  को मूल्य ४७ लाख ४९ हजार रुपैयाँ छ ।

 

पछिल्लो अध्यावधिक: असार २३, २०८० १५:३९