काठमाडौं । सवारी निर्माता कम्पनी फक्सवागनले स्वचालित विद्युतीय माइक्रोबस ‘आईडी बज’ परीक्षण गर्ने भएको छ । कम्पनीले जुलाई महिनाको अन्त्यसम्म अमेरिकाको टेक्सस राज्यमा रहेको अस्टिन सहरको सडकमा ‘आईडी बज’ परीक्षण गर्ने भएको हो ।
केही वर्षअघि फक्सवागनले फोर्डसँग मिलेर अमेरिका र युरोपमा रोबोट्याक्सी सेवा सुरु गर्ने योजना बनाएको सेल्फ-ड्राइभिङ स्टार्टअप 'अर्गो एआई'मा लगानी गरेको थियो । तर उक्त परियोजना असफल भएपछि गत अक्टोबरमा दुवै कम्पनीले आफ्नो लगानी फिर्ता लिएका थिए ।
त्यसपछि अटोनोमस भेहिकल सिस्टममा कुनै योजना नबनाएको फक्सवागनले स्वचालित माइक्रोबस परीक्षण गर्ने घोषणा गरेको हो । खासमा फक्सवागनले स्वचालित इलेक्ट्रिक आईडी बज माइक्रोबस सञ्चालन गर्न आर्गो टेकको प्रविधि प्रयोग गर्ने योजना बनाएको थियो ।
तर अहिले कम्पनीले 'मोबिल]ई' सँग सहकार्य गरेर इन-हाउस सफ्टवेयर तथा हार्डवेयर विकासको काम गरिरहेको छ । यससँगै कम्पनीले सबैभन्दा पहिले अस्टिन सहरमा परीक्षण गर्ने र तीन वर्षभित्र अमेरिकाका अन्य चार सहरमा परीक्षण गर्ने योजना बनाएको छ ।
परीक्षण सकिएपछि सन् २०२६ मा कम्पनीले रोबोट्याक्सी सार्वजनिक गर्ने बताएको छ । यता स्वचालित आईडी बज माइक्रोबसको भने सन् २०२४ देखि अमेरिकामा बिक्री खुलाउने कम्पनीको योजना छ । यो योजना अन्तर्गत क्यालिफोर्नियाको बेल्मोन्ट र अस्टिनमा कार्यालय राखी फक्सवागनले नयाँ सहायक कम्पनी फक्सवागन एडीएमटी (Volkswagen ADMT) को निर्माण थालेको छ ।
उक्त कार्यालयमा आर्गो कम्पनीमा काम गरेका पूर्वकर्मचारीहरू रहने कम्पनीको भनाइ छ । ट्याक्सी सेवा भएको स्वचालित आईडी बज सवारीमा ‘रिमोट गाइडेन्स सोलुसन’ हुने बताइएको छ । स्वचालित सवारीका लागि फक्सवागनको यो दोस्रो कदम भएको द भर्जले जनाएको छ ।
अहिले कम्पनीले जर्मनीमा पनि स्वचालित आईडी बज माइक्रोबस परीक्षण गरिरहेको छ । त्यहाँ सन् २०२५ भित्र व्यावसायिक रोबोट्याक्सी र डेलिभरी सेवा सञ्चालनमा ल्याउने कम्पनीको योजना छ ।
यसैगरी सन् २०१७ देखि हामबर्गमा विद्युतीय सवारीमार्फत राइड पोलिङ सेवा सञ्चालन गर्दै आएको सहायक कम्पनी मोइयालाई थप भ्यानहरू उपलब्ध गराएर ट्याक्सी राइड शेयरिङ सुरु गर्ने फक्सवागनले जनाएको छ ।