close

गुगल डुडलमा आज किन देखियो पानीपुरी ?

टेकपाना टेकपाना

असार २७, २०८० १३:५२

गुगल डुडलमा आज किन देखियो पानीपुरी ?

काठमाडौं । पछिल्लो समय नेपालमा पनि सबै उमेर समूहले रुचाउने स्ट्रिट फुड पानीपुरी आज बिहानैदेखि गुगलको लोगोसँगै देखिएको छ । भारतमा गोलगप्पा, पानीपुरी र पुचका नामले परिचित यो स्ट्रिट फुडलाई गुगलले डुडल गेमका रूपमा समावेश गरेको छ ।

गुगलले डुडल गेमका रूपमा पानीपुरी राख्नु रोचक घटना जोडिएको छ । १२ जुलाई २०१५ मा भारतको मध्यप्रदेशको इन्दोरी सहरमा रहेको एक रेस्टुरेन्टले ५१ फ्लेभरका पानीपुरी सबैभन्दा बढी फ्लेभरको पानीपुरी बनाएर विश्व रेकर्ड राखेको थियो । त्यसको आठ वर्षपछि गुगलले प्रयोगकर्तालाई सो घटनाको स्मरण गराउन डुडल गेममा पानीपुरी समावेश गरेको छ ।

''अन्तरक्रियात्मक खेल डुडलले आज पानीपुरी मनाएको छ,” गुगलले एक ब्लगमा लेखेको छ, “यो आलु, चना, मसला वा खुर्सानी र स्वादयुक्त पानीले भरिएको क्रिस्पी शेलले बनेको लोकप्रिय दक्षिण एसियाली स्ट्रिट फुड हो । र यसमा सबैको स्वादका लागि पानीपुरीको विविधता छ ।”

पानीपुरी डुडल गेम खेल्ने प्रयोगकर्ताले भेन्डरलाई पानीपुरी भरेर सहयोग गर्नुपर्ने हुन्छ । माथि कुन पानीपुरी मागेको हुन् भन्ने देखाइएको हुन्छ ।

सो खेल खेल्ने व्यक्तिले तल ग्राहक छुट्टिनुअघि नै उनीहरूले खोजेको पानीपुरी दिनुपर्ने हुन्छ । पानीपुरी दिन ढिलो भयो वा फरक पानीपुरी दिइयो भने गेम सकिन्छ । 

कसरी खेल्ने पानीपुरीको डुडल गेम ?

-सबैभन्दा पनि यहाँ क्लिक गरेर गुगल डटकममा जानुहोस् । 

- अनि गुगल सर्च बक्सभन्दा माथि रहेको गेमको अप्सनमा क्लिक गर्नुहोस् । 

- यति गरेपछि सोझै गेम खुल्छ, अनि आफूलाई उपयुक्त मोड छान्नुहोस् । 

- त्यसपछि सबैभन्दा पहिले गेम खेल्न सिकाइएको हुन्छ । 

- त्यहाँ देखाएजस्तै माथि खोजिएको पानीपुरी छानेर डुडल गेम खेल्न सक्नुहुन्छ ।

पछिल्लो अध्यावधिक: असार २७, २०८० १४:१०